मधेश सरकारमा एमालेको प्रवेश तय, सातै प्रदेशमा नयाँ शक्ति समीकरणको तयारी

सार्थक व्युरो ।मधेश प्रदेश सरकारमा अब नेकपा एमाले पनि सहभागी हुने तयारीमा पुगेको छ । कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई समर्थन गर्दै आएको एमालेले हालसम्म मन्त्री नपठाए पनि अब प्रत्यक्ष रूपमा सरकारमा जाने सहमति नजिक पुगेको बताइएको छ । पार्टी अध्यक्ष  केपी शर्मा ओली ले शीर्ष नेताहरूसँग गरेको छलफलपछि एमाले सरकारमा सहभागी हुने प्रक्रिया अघि बढेको हो ।एमालेका मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ का अनुसार कांग्रेस, एमाले र नेकपाबीच संयुक्त रूपमा अघि बढ्ने विषयमा अन्तिम चरणको छलफल भइरहेको छ । साथै, मधेशवादी दलहरूलाई समेत समेटेर व्यापक सहकार्य गर्ने प्रयास भइरहेको उनले बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्दा प्रमुख दलहरूबीच सहकार्य आवश्यक बनेको निष्कर्षसहित नयाँ समीकरण तयार हुन लागेको संकेत समेत उनले दिएका छन् ।उनले प्राप्त राजनीतिक उपलब्धिको संरक्षणका लागि ठूला दलहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै एमाले सरकारमा सहभागी हुने विषयमा उच्च तहमा सहमति भइसकेको बताए । एक–दुई दिनभित्रै औपचारिक निर्णय हुन सक्ने उनको भनाइ छ ।मधेश प्रदेशमा कांग्रेस नेतृत्व कायम रहने सम्भावना देखिएको छ । हाल कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित चार मन्त्रालय राख्ने र अन्य मन्त्रालय गठबन्धन दलहरूबीच बाँडफाँट गर्ने तयारी भइरहेको स्रोतहरूको भनाइ छ । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिए पनि उसका दुई मन्त्री अझै सरकारमै कायम छन् ।केन्द्रमा शीर्ष नेताहरूबीच सहमति बनेसँगै अब सातै प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया सुरु हुने संकेत देखिएको छ । मधेश बाहेकका अन्य प्रदेशमा कांग्रेस, एमाले र नेकपाबीच भागबन्डाको गृहकार्य भइरहेको बताइएको छ । मधेशमा भने जनता समाजवादी पार्टीलाई पनि समीकरणमा राख्ने प्रयास जारी छ ।

हाल मधेश प्रदेशसभामा १०२ सदस्य कायम छन् । एमालेसँग २४, कांग्रेससँग २२, नेकपासँग १५, जनमतसँग १२ तथा जसपा र लोसपासहित अन्य दलका सांसदहरूको उपस्थिति रहेको छ । यसअघि रहेका केही सांसद निलम्बन, राजीनामा र संघीय निर्वाचनमा उम्मेदवारीका कारण प्रदेशसभाको संख्या घटेको हो ।यता, मधेशमा एमाले सरकारमा सहभागी हुने तयारी भइरहेका बेला सुदूरपश्चिम प्रदेशमा नेकपाले नेतृत्व पाउने सम्भावना बलियो बनेको चर्चा छ । कांग्रेसले चार प्रदेशमा नेतृत्वको दाबी गरिरहेको भए पनि अन्ततः कांग्रेस र एमालेले तीन–तीन प्रदेश तथा नेकपालाई एक प्रदेशको नेतृत्व दिने गरी समझदारी बन्ने संकेत देखिएको छ ।कांग्रेसले मधेशसहित एमाले नेतृत्वमा रहेका लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा समेत दाबी प्रस्तुत गरेको छ । तीमध्ये कुनै एक प्रदेश कांग्रेसले पाउने सम्भावना रहेको बताइन्छ । एमालेले भने बागमती, गण्डकी र कर्णाली प्रदेशको नेतृत्वमा दाबी गरिरहेको छ ।नेकपा संयोजक पुष्पकमल दाहाल ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा विशेष चासो देखाएका छन् । शीर्ष तहमा भइरहेको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको र संविधान तथा लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न तीन दलबीच सहकार्य आवश्यक ठानिएको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित