बाजुरा–हुम्ला सीमा विवाद चर्कियोः झडपमा प्रहरीसहित पाँच घाइते

सार्थक व्युरो ।बाजुरा र हुम्लाको सीमा क्षेत्रमा उत्पन्न विवादले मंगलबार तनावपूर्ण अवस्था सिर्जना गरेको छ। बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन्।
घटनामा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ,, उनकी पत्नी लक्ष्मी गुरुङ, मिनु कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घाइतेहरूको ढाड, छाती, गर्धन र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र सर्केगाड क्षेत्रका स्थानीयले लाम्पाटा क्षेत्र आफ्नो भोगचलनमा रहेको दाबी गर्दै प्रहरी चौकी निर्माणको विरोध जनाउँदै आएका छन्। सोही विषयलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच विवाद चर्किएको हो।
स्थिति थप तनावपूर्ण बन्नुको कारण ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत साइपाल हिमालको बेसक्याम्पतर्फ गइरहेको टोली घटनास्थल पुग्नु रहेको बताइएको छ। गोपाल हमाल नेतृत्वको टोली रानीसैन क्षेत्रतर्फ जान लागेपछि हुम्लाका स्थानीयले अवरोध खडा गरेका थिए।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर शाह का अनुसार हुम्लाका स्थानीय केही दिनअघिदेखि नै उक्त क्षेत्रमा जम्मा भएर सुदूरपश्चिमको टोलीलाई प्रवेश गर्न नदिने चेतावनी दिइरहेका थिए। उनीहरूले रानीसैन क्षेत्र हुम्लामा पर्ने दाबी गर्दै अभियान टोलीमाथि अवरोध सिर्जना गरेका हुन्।
विवाद थप नबढोस् भन्ने उद्देश्यले मेयर हमालसहितको टोली बीचबाटै फर्किएको जनाइएको छ। स्थानीय तहका प्रतिनिधिहरूका अनुसार हुम्लाबाट आएका केही व्यक्तिले स्थानीयमाथि दुर्व्यवहार र कुटपिटसमेत गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याएको छ। तर हुम्लाका स्थानीयले उक्त क्षेत्र आफूहरूले लामो समयदेखि प्रयोग गर्दै आएको भन्दै निर्माण कार्यको विरोध गरिरहेका छन्।
बाजुरा प्रहरीले भने प्रहरी चौकी निर्माण हुन लागेको स्थान बाजुरा जिल्लाभित्रै पर्ने स्पष्ट पारेको छ। प्रहरीका अनुसार हुम्लाका स्थानीयले जडीबुटी संकलनलगायत गतिविधिमा रोक लाग्ने आशंकाका कारण चौकी स्थापनाको विरोध गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित