बाजुरा–हुम्ला सीमाविवाद चर्कियो, निष्पक्ष छानबिन र सुरक्षा सुदृढीकरणको माग

सार्थक व्युरो । बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्रमा देखिएको तनावलाई मध्यनजर गर्दै बाजुरा जिल्ला प्रशासन कार्यालयले घटनाको उच्चस्तरीय छानबिन गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बिहीबार सम्पन्न सर्वदलीय बैठकले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा सीमाक्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउन आवश्यक पहल गर्ने निष्कर्ष निकालेको हो।
विवाद हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने तयारीसँगै सुरु भएको बताइएको छ। बाजुरा प्रशासनले प्रहरी पोस्ट निर्माण अघि बढाएपछि हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फका केही स्थानीयले विरोध जनाएको र त्यसक्रममा बाजुराका स्थानीय तथा घुम्न गएका आन्तरिक पर्यटकमाथि आक्रमण भएको आरोप छ।
बैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले घटनाको गम्भीरता अध्ययन गर्न गृह मन्त्रालयमार्फत उच्चस्तरीय समिति गठनको माग गरिने जानकारी दिए। उनका अनुसार लाम्पाटामा भएको कुटपिट, लुटपाट र आक्रमणका घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सिफारिस गरिनेछ।
मार्तडीमा आयोजित बैठकमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो। हुम्ला पक्षका प्रतिनिधि भने बैठकमा सहभागी भएका थिएनन्।
बैठकले सीमावर्ती क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय पनि गरेको छ। विशेषगरी साइपाल हिमालको आधार शिविर रानीसैन क्षेत्रमा भ्रमणमा जाने पर्यटक र स्थानीयवासीको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा उपस्थिति बढाइने जनाइएको छ।
त्यसैगरी विवादित लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको काम शीघ्र अघि बढाउने सहमति भएको छ। कर्णाली करिडोरअन्तर्गत हिमाली गाउँपालिका क्षेत्रमा यातायात सञ्चालन प्रभावित हुन नदिन सबै सरोकारवालासँग समन्वय र संवादलाई निरन्तरता दिने निर्णयसमेत बैठकले गरेको छ।
गत मंगलबार रानीसैन क्षेत्रको सीमाविवादका क्रममा बाजुरा र हुम्लाका स्थानीयबीच झडप भएको थियो। उक्त घटनामा बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण हुँदा ६ जना घाइते भएका थिए। तीमध्ये तीन जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं पठाइएको प्रशासनले जनाएको छ।
यसैबीच, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको टोलीमाथि समेत आक्रमण प्रयास भएको जानकारी सार्वजनिक भएको छ। स्थानीय युवाहरूले टोलीलाई चुची खोलासम्म लखेटेको र आवागमन अवरुद्ध पार्न खोलामाथिको काठेपुल आंशिक रूपमा क्षति पुर्‍याइएको बताइएको छ।
केही व्यक्तिलाई बन्धक बनाइएको भन्ने विवरणसमेत बाहिरिएपछि घटनाको थप अनुसन्धान थालिएको प्रशासनले जनाएको छ। सर्वदलीय बैठकले बाजुरा र हुम्लाबीचको सामाजिक सद्भाव कायम राख्दै घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित