गड्यौला मल उत्पादनतर्फ किसान आकर्षित, शुक्लाफाँटामा सीपमूलक तालिम

सार्थक व्युरो । रासायनिक मलको बढ्दो प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको चिन्ताबीच किसानहरू गड्यौला मल उत्पादन र प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। माटोको गुणस्तर संरक्षण, उत्पादनको गुणस्तर वृद्धि तथा अतिरिक्त आम्दानीको सम्भावना देखिएपछि गड्यौला मलप्रति किसानको रुचि बढ्दै गएको हो।
किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको छ। गैरसरकारी संस्था निड्स नेपालको सहकार्यमा आयोजित तीनदिने तालिममा २५ जना किसान सहभागी भएका थिए। तालिममा गड्यौला मल उत्पादनको विधि, यसको उपयोगिता, व्यावसायिक सम्भावना तथा बजार व्यवस्थापनका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो।
तालिमका प्रशिक्षक तथा गड्यौला मल उत्पादक वीरबहादुर हमालले रासायनिक मलको अत्यधिक प्रयोगले खेतीयोग्य जमिनको गुणस्तरमा नकारात्मक असर पारिरहेको बताए। उनले गड्यौला मललाई बिरुवाका लागि आवश्यक पोषक तत्वले भरिपूर्ण जैविक मलका रूपमा व्याख्या गर्दै यसको प्रयोगले माटोको संरचना सुधार्ने र उत्पादन क्षमता बढाउने उल्लेख गरे।
उनका अनुसार गड्यौला मलमा बिरुवाको वृद्धि र उत्पादनका लागि आवश्यक विभिन्न पोषक तत्व पाइन्छन्। यसले माटोमा पानी धारण गर्ने क्षमता वृद्धि गर्नुका साथै जैविक सक्रियता बढाउन पनि मद्दत पुर्‍याउँछ।
पछिल्ला वर्षमा तरकारी, फलफूल, नर्सरी तथा कौसीखेती गर्ने किसानहरूमा गड्यौला मलको प्रयोग बढ्दै गएको छ। माग बढेसँगै उत्पादनले बजारको आवश्यकता पूरा गर्न कठिन हुन थालेको हमालको भनाइ छ।
नेपालगन्जमा २०७१ सालदेखि गड्यौला मल उत्पादन गर्दै आएका हमालले वार्षिक ६४ टन मल उत्पादन गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएका छन्। उनले यस व्यवसायबाट वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी भइरहेको बताए।
नगरपालिकाका उद्यम शाखा प्रमुख धनबहादुर चौधरीका अनुसार शुक्लाफाँटा–९ स्थित सामुदायिक गौशालामा व्यावसायिक रूपमा गड्यौला मल उत्पादन गर्न २८ वटा पिट निर्माण गरिएका छन्। गौशालाबाट निस्कने गोबरलाई सदुपयोग गर्दै स्थानीयस्तरमै प्राङ्गारिक मल उत्पादन गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए।
तालिममा सहभागी किसानहरूले गड्यौला मल उत्पादनबारे व्यावहारिक ज्ञान प्राप्त गरेको बताएका छन्। किसान ललितबहादुर साउदले अब घरमै गड्यौला मल उत्पादन गरी खेतीमा प्रयोग गर्ने र अतिरिक्त उत्पादन बिक्री गर्ने योजना बनाएको बताए।
निड्स नेपालद्वारा सञ्चालित ‘दिगो आम्दानीद्वारा महिला उद्यमी सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाका किसान तथा महिलालाई समेत यस्ता तालिम प्रदान गरिँदै आएको छ। परियोजनाका संयोजक हेमन्त शाहीका अनुसार प्रत्यक्ष अभ्यासमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले किसानलाई सफल गड्यौला मल उत्पादकका फार्ममा समेत अवलोकन गराउने गरिएको छ।
गड्यौला मलको प्रयोगले रासायनिक मलमा निर्भरता घटाउने, माटोको स्वास्थ्य जोगाउने, उत्पादनको गुणस्तर सुधार गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित