सार्थक व्युरो । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कञ्चनपुरस्थित महाकाली नदीमाथि निर्माणाधीन चार लेन पुलसँग सम्बन्धित गाइडबण्ड (नदीको बहावलाई निश्चित दिशामा नियन्त्रण गर्न तथा पुल, सडक, बाँध वा अन्य संरचनालाई नदीको कटान र बाढीबाट जोगाउन बनाइने सुरक्षात्मक तटबन्ध) निर्माण कार्यलाई शीघ्र अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।शुक्रबार बिहान भीमदत्त नगरपालिका–१२ मा रहेको महाकाली पुल परियोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले गाइडबण्ड निर्माणमा देखिएको अवरोध हटाएर आवश्यक परे नयाँ ठेक्का प्रक्रियामार्फत काम अघि बढाउन मातहतका कार्यालयलाई निर्देशन दिएका हुन्।
चार लेन पुल तथा अन्य सहायक संरचनाको निर्माण अधिकांश रूपमा सम्पन्न भइसके पनि गाइडबण्ड निर्माणका विषयमा निर्माण कम्पनी र परियोजना कार्यालयबीच विवाद कायमै रहेको छ। पुल निर्माणको जिम्मा पाएको कुमार–सीएफईसी जेभीले गाइडबण्डको नयाँ डिजाइन तथा भेरियसन अर्डरसम्बन्धी प्रक्रिया पूरा नभएको भन्दै २०८२ वैशाखमा महाकाली पुल योजना कार्यालयलाई औपचारिक पत्र पठाएको थियो।गाइडबण्ड निर्माणसँग जोडिएको विवाद हाल मध्यस्थ न्यायाधिकरणमा विचाराधीन अवस्थामा रहेको छ। तथापि मन्त्री लम्सालले ठेकेदार कम्पनीले सम्झौता कार्यान्वयन नगरेपछि वैकल्पिक उपाय अपनाउनुपर्ने बताए। उनले सडक विभागले आवश्यक प्रक्रिया अगाडि बढाएर नयाँ ठेक्का आह्वान गर्न सक्ने उल्लेख गर्दै न्यायाधिकरणको निर्णय पर्खिरहन आवश्यक नभएको धारणा व्यक्त गरे।करिब तीन अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त पुलको निर्माण कार्य झण्डै तीन वर्षअघि नै ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ। गाइडबण्ड निर्माण नहुँदा भने परियोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।
कञ्चनपुर भ्रमणका क्रममा मन्त्री लम्सालले दोधारा–चाँदनी सुक्खा बन्दरगाह र निर्माणाधीन मझगाउँ विमानस्थलको समेत निरीक्षण गरेका छन्। मझगाउँ विमानस्थलको अनुगमनपछि उनले विमानस्थल विस्तारका लागि आवश्यक नेपाली सेनाको स्वामित्वमा रहेको जग्गा अधिग्रहणसम्बन्धी विषय छिट्टै टुंगो लगाइने बताए।


















Discussion about this post