सार्थक व्युरो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा बुधबार राति आएको शक्तिशाली हावाहुरीका कारण ८० परिवार प्रभावित भएका छन्। हावाहुरीले घर तथा गोठमा क्षति पुर्याउनुका साथै विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासी थप समस्यामा परेका छन्।
स्थानीय महेश जोशीले हावाहुरीका कारण घरको छाना उडेर जाँदा खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामग्री वर्षाले भिजेको बताए। उनका अनुसार अचानक आएको हुरीबाट ज्यान जोगाउनमै व्यस्त हुनुपर्दा अन्य सामान सुरक्षित राख्नसमेत नसकिएको हो। हाल उनीसहित प्रभावित परिवारहरू अस्थायी बसोबासको सहारामा रहेका छन्।
वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार हावाहुरीबाट ६० वटा घर र २० वटा गोठमा क्षति पुगेको छ। अधिकांश घरका जस्तापाता तथा टायलका छाना उड्दा त्यसपछि परेको वर्षाले घरभित्र रहेका अन्नपात र खाद्यान्नमा समेत नोक्सानी पुर्याएको छ।
उनले धेरै परिवार विस्थापितजस्तै अवस्थामा पुगेको जानकारी दिँदै केहीले आफन्तको घरमा आश्रय लिएको र केही अझै अस्थायी व्यवस्थामा बसिरहेको बताए।
हावाहुरीले विद्युत् संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। वडाका विभिन्न स्थानमा १८ वटा विद्युत् पोल ढलेका वा भाँचिएका छन्। २०० केभीए क्षमताको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि क्षेत्रभर विद्युत् आपूर्ति बन्द रहेको जनाइएको छ।
वडाध्यक्ष ऐरका अनुसार वडाभर जडान गरिएका पाँच वटा सिसिटिभी क्यामेरा क्षतिग्रस्त भएका छन् भने करिब डेढ किलोमिटर क्षेत्रमा सिसिटिभीको तार चुँडिएको छ। केही स्थानमा रुख ढलेर घर तथा विद्यालयमा समेत क्षति पुगेको उनले बताए।
विद्युत् सेवा पुनः सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालित भएको छ। ढलेका पोल हटाउने, नयाँ पोल जडान गर्ने तथा लाइन मर्मत गर्ने काम भइरहेको र मौसम अनुकूल रहेमा छिट्टै विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको जनाइएको छ।
यसबीच, हावाहुरीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको टोली परिचालित भएको छ। प्रभावित परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउने तयारी भइरहेको वडाध्यक्ष ऐरले जानकारी दिए।
स्थानीयवासीका अनुसार केही समयको हावाहुरीले वर्षौँको मेहनतबाट निर्माण गरिएका घर तथा संरचनामा ठूलो क्षति पुर्याएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारहरू बढी मारमा परेका छन्। स्थानीय तहले प्रदेश र संघीय सरकारसँग समन्वय गरी प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।


















Discussion about this post