सार्थक ब्यूरो । कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टेम्पो चालक धनु धामीले दिएको जाहेरीका आधारमा दुवै जनामाथि सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको हो। घटनाको थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरी स्रोतले जनाएको छ।
यस घटनासँग सम्बन्धित रूपमा नियन्त्रणमा लिइएका वन रक्षकसहित अन्य १० जना वन कर्मचारीलाई भने आवश्यक परेको बेला उपस्थित हुने सर्तमा हाजिरी जमानीमा रिहा गरिएको छ।
वन अतिक्रमण हटाउने अभियान सञ्चालन भइरहेका बेला स्थानीय धनादेवी धामीले व्यवसायका लागि प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीले भीरबाट धकेलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। भिडियो भाइरल भएसँगै चौतर्फी आलोचना भएपछि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
घटनाको वास्तविकता पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको समग्र अध्ययन गरी संलग्नता, जिम्मेवारी निर्धारण तथा भएको क्षतिको मूल्यांकनसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
वन संरक्षणका नाममा अपनाइने कार्यशैली र अधिकार प्रयोगको सीमाबारे प्रश्न उठिरहेका बेला उक्त घटनाले सार्वजनिक निकायको जवाफदेहिता तथा नागरिक सम्पत्तिको सुरक्षासम्बन्धी विषयलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ।


















Discussion about this post