सार्थक ब्यूरो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री तथा श्रमिकहित अनुकूल बनाउन माग गर्दै यातायात व्यवस्था कार्यालय धनगढीमा ध्यानाकर्षण पत्र बुझाएको छ।
बुधबार प्रदेश अध्यक्ष ललित चन्दको नेतृत्वमा गएको संगठनको टोलीले कार्यालय प्रमुख भुवन जोशीलाई चार बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो। संगठनले यातायात क्षेत्रमा विद्यमान समस्याको समाधान गर्दै सेवाग्राही र श्रमिक दुवैका लागि सहज वातावरण निर्माण गर्न आवश्यक सुधारका कदम चाल्न आग्रह गरेको छ।
पत्रमा कार्यालयमा हुने अत्यधिक भीडभाड, बिचौलियाको सक्रियता, सेवाग्राहीले भोग्नुपर्ने अनावश्यक झन्झट तथा ढिलासुस्तीका कारण सेवा प्रवाह प्रभावित भइरहेको उल्लेख गरिएको छ। यस्ता समस्या अन्त्य गरी छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन संगठनले माग गरेको छ।
त्यसैगरी सेवा प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै नगदरहित (क्यासलेस) कारोबारलाई प्रभावकारी बनाउन, अनलाइन सेवाको दायरा विस्तार गर्न तथा कार्यालयको कार्यसम्पादनलाई थप पारदर्शी र जवाफदेही बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। कर्मचारीको जिम्मेवारी र उत्तरदायित्वलाई समेत मजबुत बनाउनुपर्ने माग संगठनले राखेको छ।
संगठनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी सरकारी नीतिलाई यातायात क्षेत्रमा पूर्ण रूपमा कार्यान्वयन गर्न विशेष जोड दिएको छ। सवारीसाधन दर्ता, नवीकरण तथा अन्य प्रशासनिक प्रक्रिया पूरा गर्दा सम्बन्धित कम्पनी वा व्यवसायीले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरिएको छ। यसले यातायात क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने विश्वास संगठनले व्यक्त गरेको छ।
नयाँ सवारीसाधन दर्ता तथा सञ्चालन अनुमति प्रदान गर्दा कानुनले तोकेका मापदण्डको कडाइका साथ पालना हुनुपर्ने विषय पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ। रुटको अवस्था, यात्रुको चाप, स्थानीय आवश्यकता र सवारीको प्रकृतिलाई आधार मानेर मात्र सञ्चालन अनुमति दिनुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न संगठनले आग्रह गरेको छ। यसबाट अस्वस्थ प्रतिस्पर्धा र अव्यवस्थित सञ्चालन नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष ललित चन्दले सार्वजनिक यातायात क्षेत्र देशको अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन पारदर्शी, व्यवस्थित र श्रमिकमैत्री हुनुपर्ने बताए। उनले श्रमिक, व्यवसायी, सेवाग्राही तथा सरकारी निकाय सबैको हितलाई ध्यानमा राखेर सुझाव प्रस्तुत गरिएको उल्लेख गर्दै सम्बन्धित निकायले ती विषयलाई गम्भीरतापूर्वक कार्यान्वयनमा लैजाने अपेक्षा व्यक्त गरे।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशीले संगठनले उठाएका माग समयानुकूल र सान्दर्भिक रहेको बताए। उनले यातायात क्षेत्रलाई थप सेवामुखी, पारदर्शी र व्यवस्थित बनाउन यस्ता सुझाव उपयोगी हुने धारणा राखे। साथै प्रस्तुत माग तथा सुझावहरूको अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै सुशासन कायम गर्न सरकारी निकाय, व्यवसायी, श्रमिक संगठन र अन्य सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।


















Discussion about this post