जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा राष्ट्रिय विचार गोष्ठी जारी

सार्थक ब्यूरो । जनताको बहुदलीय जनवादका प्रवर्तक तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रिय विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह जारी रहेको छ।
मदन भण्डारी फाउण्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा भइरहेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक गोष्ठीमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, बुद्धिजीवी, अनुसन्धानकर्ता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ।
कार्यक्रममा जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान तथा समकालीन राजनीतिक सन्दर्भमा उहाँका विचारको सान्दर्भिकतामाथि छलफल भइरहेको आयोजकले जनाएको छ। सोही अवसरमा मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आफ्ना धारणा राख्ने कार्यक्रम तय गरिएको छ।
मदन भण्डारी फाउण्डेशनका कार्यवाहक सचिव डा. भेषराज अधिकारीले जननेता मदन भण्डारीको राजनीतिक विचार, योगदान र दर्शनबारे अध्ययन तथा बहसलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
गोष्ठीमा सहभागी वक्ताहरूले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको अवधारणा, नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका र वर्तमान राजनीतिक परिवेशमा त्यसको उपयोगिताबारे विचार राखिरहेका छन्। आयोजकका अनुसार कार्यक्रमले मदन भण्डारीको वैचारिक विरासतलाई नयाँ पुस्तामाझ पु¥याउन र राष्ट्रिय बहसलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित