सार्थक ब्यूरो । शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणलाई प्रभावकारी बनाउँदै स्थानीय उपभोक्ताको आर्थिक सशक्तीकरणका लागि विभिन्न आयमूलक तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको छ।
वन व्यवस्थापनले बाँस, फलफूल र बेसार खेतीसँगै लघुउद्यमलाई प्रवर्द्धन गर्दै स्थानीयका लागि रोजगारी तथा आयआर्जनका नयाँ अवसर सिर्जना गरेको जनाएको छ।
करिब एक सय हेक्टर क्षेत्रफलमा दशकअघि रोपिएका पाँच हजारभन्दा बढी बाँसका बिरुवाको संरक्षण र व्यवस्थापन हुँदै आएको छ। वन क्षेत्रमा काँडे, पेले, लाठी, मलवास, निगाले, देहरादुन, लहरे र बुमलगायत विभिन्न प्रजातिका बाँस उत्पादन भइरहेको छ।
सामुदायिक वनका कार्यालय सचिव अम्भुसिंह धामीका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा बाँस बिक्रीबाट मात्रै चार लाख ९२ हजार ९०५ रुपैयाँ आम्दानी भएको छ। आर्थिक वर्ष २०८०/८१ मा एक लाख ९२ हजार १०५ रुपैयाँ, २०८१/८२ मा एक लाख ३० हजार ९५० रुपैयाँ र २०८२/८३ मा एक लाख ६९ हजार ८५० रुपैयाँ आम्दानी भएको उनले बताए।
उत्पादित बाँस स्थानीयले व्यावसायिक तरकारी खेती, डोको–डालो निर्माण, घरको सटरिङ, कुखुरापालनका टहरा तथा भूक्षय नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणमा प्रयोग गर्दै आएका छन्। प्रजातिअनुसार एक गोटा बाँस २०० देखि ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
वनले फलफूल खेतीलाई पनि विस्तार गरेको छ। वन क्षेत्रमा चार हजार बियाँरहित कागती, ५० पाकिस्तानी सुन्तलाका बिरुवा तथा लिची, बम्बई, दह्रे, बाह्रमासे र आम्रपाली जातका करिब ५०० आँपका बिरुवा रोपिएका छन्। उत्पादन दिन थालेका ती बगैँचा पाँच वर्षका लागि चार लाख रुपैयाँमा ठेक्कामा दिइएको छ।
सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले उपभोक्ताको आयआर्जन बढाउने उद्देश्यले दुना–टपरी तथा बाँस–बेत उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उद्योगका लागि आवश्यक उपकरण खरिद गरिसकिएको र सञ्चालनअघि उपभोक्तालाई सीपमूलक तालिमसमेत प्रदान गरिएको उनले बताए।
वनले चार हेक्टर क्षेत्रफलमा बेसार खेती गर्दै आएको छ। यहाँबाट प्रत्येक वर्ष ४० देखि ५० क्विन्टलसम्म बेसार उत्पादन हुने गरेको छ। उत्पादित बेसारलाई गुणस्तरीय रूपमा प्रशोधन गर्न नगरपालिका र दातृ निकायको सहयोगमा सौर्य ड्रायर जडान गरिएको अध्यक्ष जोशीले जानकारी दिए।
मौरीपालन व्यवसाय विस्तार गर्ने उद्देश्यले कैलालीस्थित वनस्पति अनुसन्धान केन्द्रबाट दुई हजार चिउरीका बिरुवा ल्याएर रोप्ने तयारी गरिएको छ। साथै वनभित्र पिकनिकस्थल निर्माण तथा धार्मिक र पर्यटकीय महत्व बोकेको सुनदेवी तालसम्म पदमार्ग निर्माण गर्ने योजना पनि अघि बढाइएको छ।
वन संरक्षणसँगै सामुदायिक विकास, संरक्षण शिक्षा, विपन्न वर्ग लक्षित आयआर्जन र सीप विकास कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पूर्वाधार निर्माणमा समेत सामुदायिक वनले लगानी गर्दै आएको छ।
स्थानीय उपभोक्ता रमेश नेपालीका अनुसार वनले वन्यजन्तु बस्तीमा प्रवेश रोक्न मेसवायर जडान, टर्चलाइट वितरण, विद्यालयलाई कम्प्युटर सहयोग, पुल–पुलेसा निर्माण तथा सडक ग्राभेलिङजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। विपन्न परिवारलाई आत्मनिर्भर बनाउन आयमूलक र सीप विकासका कार्यक्रम प्रभावकारी बनेको उनको भनाइ छ।
सामुदायिक वनले आर्थिक वर्ष २०८२/८३ मा फलफूल, बाँस, काठ–दाउरा बिक्री तथा दण्ड–जरिवानाबाट ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाएको छ। एक हजार ११ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वातावरण मध्यवर्ती सामुदायिक वनले संरक्षण र स्थानीय आर्थिक विकासलाई सँगसँगै अघि बढाउँदै आएको छ।


















Discussion about this post