सार्थक ब्यूरो । किसान नेता सहिद भीमदत्त पन्तको ७३औँ स्मृति दिवसका अवसरमा आयोजित ‘आजको सन्दर्भमा भीमदत्त पन्त’ विषयक निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।
भीमदत्त पन्त स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पूर्वउपसभामुख तथा प्रतिष्ठानका सल्लाहकार भोजराज जोशीको प्रमुख आतिथ्यमा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो।
प्रतियोगितामा मेधावी स्कुल, भासीकी आइशा चौधरी प्रथम, इन्टरनेसनल पब्लिक स्कुलका भरत भट्ट द्वितीय, मोडर्न मन्टेश्वरीका प्रिन्स पुजारा तृतीय तथा महेन्द्रनगर माध्यमिक विद्यालयका भावना जोशीले सान्त्वना स्थान हासिल गरेका थिए।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि जोशी र प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद जोशीले प्रदान गरे।
प्रतियोगितामा भीमदत्त नगरपालिका क्षेत्रका १२ विद्यालयबाट २४ विद्यार्थी सहभागी भएका थिए। सहभागी सबै विद्यार्थीलाई प्रतियोगिता निर्णायक मण्डलका सदस्य उद्धव ठगुन्ना र जगदीश ओझा, प्रतिष्ठानका उपाध्यक्ष नन्दा धामी तथा जेसिज माध्यमिक विद्यालय, राजिपुरकी शिक्षिका सीता पुजाराले प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद जोशीले गरेका थिए भने सञ्चालन प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि भोजराज जोशीले भीमदत्त पन्तले उठाएका किसान, गरिब तथा सीमान्तकृत समुदायका मुद्दा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। विद्यार्थीहरूले भीमदत्त पन्तका विचार र योगदानबारे चासो देखाएकोमा खुसी व्यक्त गर्दै उनले पन्तले करिब ७५ वर्षअघि उठाएको किसान अधिकारको आवाज अझै पूरा नभएको बताए।
उनका अनुसार भीमदत्त पन्तले ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने छैन भलो’ जस्ता नारामार्फत सुदूरपश्चिममा किसान आन्दोलनको नेतृत्व गरेका थिए। त्यतिबेलाका किसान अधिकारका ती मुद्दा अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै जोशीले पन्तको क्रान्तिको सपना अझै पूर्ण रूपमा पूरा हुन नसकेको बताए।
भीमदत्त पन्तलाई २०१० साल साउन १७ गते डोटीको बुडरमा तत्कालीन सरकारले भारतीय सेनाको समेत सहयोगमा गोली हानी हत्या गरेको बताइन्छ। उनको निधन भएको दिन साउन १७ गतेलाई प्रत्येक वर्ष भीमदत्त पन्त स्मृति दिवसका रूपमा मनाउने गरिएको छ।
स्मृति दिवसका अवसरमा प्रतिष्ठानले निबन्ध प्रतियोगिताका अतिरिक्त भीमदत्त पन्तको तस्बिरमा माल्यार्पण, प्रतिष्ठान कार्यालयमा सरसफाइलगायत कार्यक्रम आयोजना गरेको थियो।
प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद जोशीले भीमदत्त पन्तले उठाएका मुद्दा अझै पनि यथावत रहेको बताए। स्थानीय तहले सहिदका सपना पूरा गर्ने दिशामा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भीमदत्त स्मृति उद्यानमा तोडफोड भएको पन्तको सालिकको मर्मतसम्भारमा भीमदत्त नगरपालिकाले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
भीमदत्त पन्तको सम्मानमा २०६७ सालमा तत्कालीन महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका नामकरण गरिएको थियो।








Discussion about this post