सार्थक ब्यूरो । सुदूरपश्चिममा धानखेतीको मुख्य समय सुरु भएसँगै रासायनिक मलको माग बढेको छ। तर मागअनुसार आपूर्ति हुन नसक्दा किसानले मलका लागि समस्या झेल्नुपरेको छ। धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको तथ्याङ्कले युरियाको तुलनामा डिएपीको आपूर्ति अवस्था झन् कमजोर रहेको देखाएको छ।
कम्पनीले साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ। सो अवधिमा ३३.२५ मेट्रिक टन पोटाससमेत बिक्री भएको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले जनाएको छ।
प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीका अनुसार धानखेतीका लागि आवश्यक मल किसानसम्म पुर्याउन कम्पनीले सहकारी तथा कृषि सामग्री बिक्री केन्द्रमार्फत मल वितरण गर्दै आएको छ। धान रोपाइँ तथा खेतीको मुख्य समयमा मलको माग बढ्ने भएकाले उपलब्ध मललाई प्राथमिकताका आधारमा किसानसम्म पुर्याउने गरिएको उहाँले बताउनुभयो।
तर उपलब्ध मलले किसानको माग धान्न सकेको छैन। धनगढीका लागि युरियाको आवश्यक कोटा एक हजार ९४७.७०५ मेट्रिक टन र डिएपीको एक हजार ९१५.८१५ मेट्रिक टन रहेको प्रबन्धक बोगटीले जानकारी दिनुभयो।
हालको बिक्रीपछि कम्पनीमा युरिया ११०.२५०, डिएपी ३१ र पोटास ९३.६५० मेट्रिक टन मौज्दात छ। बिक्री र मौज्दातलाई जोड्दा युरिया एक हजार ३९७.९५५ र डिएपी ३२६.७ मेट्रिक टन पुगेको छ।
आवश्यक कोटाको तुलनामा बिक्री तथा मौज्दातमा रहेको मल हेर्दा युरिया करिब ७२ प्रतिशत र डिएपी करिब १७ प्रतिशत मात्रै पुगेको छ। यसले डिएपीको आपूर्ति अवस्था निकै कमजोर रहेको देखाउँछ।
कम्पनीको विवरणअनुसार आवश्यक कोटाको तुलनामा युरियामा ५४९.७५५ मेट्रिक टन र डिएपीमा एक हजार ५८९.११५ मेट्रिक टन कमी छ। विशेषगरी धानखेतीका लागि मलको माग उच्च रहेको समयमा डिएपीको आपूर्ति कमजोर हुँदा किसानलाई थप समस्या परेको हो।
धानखेतीका लागि आवश्यक मल समयमै उपलब्ध नहुँदा उत्पादनमा समेत असर पर्न सक्ने भएकाले मागअनुसार आपूर्ति बढाउनुपर्ने किसानहरूको माग छ। मल वितरणमा हुने असमानता र अभाव अन्त्य गर्न सम्बन्धित निकायले समयमै आपूर्ति सुनिश्चित गर्नुपर्ने देखिन्छ।








Discussion about this post