नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी

मदन आश्रित स्मृति दिवस बिषेश

जननेता मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा एक अद्वितीय नेताका रुपमा स्थापित हुनुहुन्छ । सुदूर पूर्व ताप्लेजुङको साधारण परिवारमा lवि.स.२००९ असार १४मा जन्मेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय दुर्घटना बाट भएको मृत्युको रहस्य गर्भमै रहेको छ । सादा जिवन उच्च विचारका धनी मदन भण्डारीको जीवन एक विशिष्ट राजनेताका रुपमा स्थापित छन ।राष्ट्रिय राजनीति र विशेषगरी कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी अनवरत रुपमा चर्चा, सम्झना र मार्गदर्शनको एक चुनौतीविहीन पात्रका रुपमा रहिरहनुभएको छ । विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र स्वयम् नेपालमा पनि शुद्धतावादी देखिने नाममा एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि अनेक आरोप लगाएर वस्तुतः आफैँ कमजोर बनिरहेको अवस्थामा हिम्मतका साथ प्रतिस्पर्धा र पहलकदमीमा आधारित राजनीति अंगीकार गर्दै जनताको बहुदलीय जनवाद अघि सारेर मदन भण्डारीले गरेको दिशानिर्देशकै कारण आज उहाँ भौतिक रुपमा हाम्रा सामु नभए पनि राजनीतिक र वैचारिक रुपमा झन्–झन् सान्दर्भिक हुँदै जानुभएको छ । सुरु–सुरुमा जनताको बहुदलीय जनवादलाई ‘संशोधनवादी’ वा ‘दक्षिणपन्थी’ देखेर दृष्टिभ्रम राख्नेहरु पनि कालान्तरमा घुमीफिरी जनताको बहुदलीय जनवादकै राजनीतिक र बैचारिक आलोकमा खडा हुन आइपुग्नुले मदन भण्डारीको सान्दर्भिकता हिजोभन्दा आज विल्कुल नघटेको मात्र होइन, बढेको छ ।विश्वमा क्रान्तिद्वारा स्थापित कम्युनिस्ट सत्ताहरू धमाधम ढलिरहेको र कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको अवस्थामा मदन भण्डारी छोटो अवधिमा उदाएर छोटै अवधिमा अस्ताएको ३२ बर्ष बित्न लागेका छन्।  दुर्घटनामा मारिनुअघिको खुला राजनीतिमा मदन भण्डारी जुन चर्चामा रहनुभयो, आज पनि कम्युनिस्ट आन्दोलनभित्रका बहसहरूमा त्यत्तिकै केन्द्रमा हुनुहुन्छ ।
माक्र्सवादको सिर्जनात्मक प्रयोग हरेक देशले आफ्नो अनुकूल गर्नुपर्छ भन्ने मान्यताका आधारमा नेपालको मौलिक परिस्थिति अनुसार त्यसलाई जनताको बहुदलीय जनवादमार्फत संश्लेषण गरेर वास्तवमा मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिनुभएको थियो भन्ने कुरा यस अवधिमा प्रमाणित भएको छ । हतियारबन्द आन्दोलन नै कम्युनिस्टहरूको एकमात्र बाटो हो भन्ने भाष्यमाथि जबर्जस्त र प्रभावकारी हस्तक्षेप गर्दै जनताका बीचमा जाने र जनताले निर्धारण गरिदिएको स्थानमा बसेर जनताको विश्वास जित्न कोसिस गर्ने कुरालाई मदन भण्डारीले जनताको बहुदलीय जनवाद मार्फत सिद्धान्तकृत गर्नुभएको थियो । जो कम्युनिस्ट वर्तमानमा उभिन चाहन्छन् र भविष्यका लागि केही चाहन्छन्, तिनका लागि यसबाहेक अर्को कुनै बाटो छैन ।
हरेक देशका कम्युनिस्टहरूले यस आन्दोलनलाई बलियो बनाउन आफ्नो मुलुक अनुकूलका प्रयोगहरू गरेर अघि बढ्दा मात्रै सफलता पाएका छन् । क्रान्तिकै कुरा गर्दा मजदुरमा आधारित भएर जसरी सन् १९१७ मा रूसी जनवादी क्रान्ति सम्पन्न भयो, त्यसरी सन् १९४९ मा चीनमा क्रान्ति सम्पन्न भएन । उत्तरकोरिया, क्युबा, भियतनाम र लाओसका आफ्नै शैली रहे र त्यही मौलिकताका कारण तिनीहरू आजपर्यन्त टिकिरहेका छन् ।
नेपालमा पनि हामीले चीन वा रूसको नक्कल गरेको भए यो आन्दोलन उहिल्यै विसर्जनको दिशामा गइसक्ने थियो । छेउमै भारतको पश्चिम बंगालमा नक्सलाइटहरूको असफलतालाई नजिकबाट देखेको र त्यहीं भाकपा (माक्र्सवादी) को राजनीतिलाई पनि हेरेको हुनाले नेपाली क्रान्तिको बाटो चयन गर्न सम्भवतः मदन भण्डारीलाई व्यावहारिक रूपमा गाह्रो भएन । तर, जडताबाट गुज्रिएको कम्युनिस्ट आन्दोलनलाई त्यसबाट बाहिर ल्याउनका लागि सानोतिनो हिम्मत र मिहिनेतले सम्भव थिएन, जुन मदन भण्डारीको विराट प्रतिभाशाली व्यक्तित्वका कारण सम्भव हुन पुगेको थियो ।
कुनै बेला ‘राज्यसत्ता बन्दुकको नालबाट निस्किन्छ’ भन्ने माओको उक्तिलाई आदर्श मानेर बन्दुक बोकेर राज्यसत्ता कब्जा गर्न हिंडेको माओवादी १० वर्षमा थाकेर मदन भण्डारीले देखाएकै बाटोमा आइपुग्नुले यसको सान्दर्भिकता थप पुष्टि गर्दछ । नेकपाकालमा पुष्पकमल दाहालले बारम्बार आफ्नो मदन भण्डारीसँग भेटघाटको मिति तय भए पनि भेट हुन नपाउँदै दुर्घटना भएका कारण पर्याप्त छलफल हुन नपाएको र छलफल भएको भए ‘जनयुद्ध‘ नै गर्नुपर्ने थिएन भन्ने गरेको सार्वजनिक अभिलेखमै छ ।
मदन भण्डारीले अघि सारेको र नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्त मानेकाले जस्तो तस्तै स्वीकार्न गाह्रो माने पनि एमालेसँग एकता हुँदा माओवादीले जनताको बहुदलीय जनवादको रूप र सार दुवै स्वीकार गरेको दस्तावेज सुरक्षित छन् ।
जतिसुकै लामो चक्कर लगाए पनि, बन्दुकका बलमा जनमत बटुलेर अलिकति आकार बढाए पनि र पृथक् हौं भनेर बल लगाए पनि माओवादी अन्ततः मदन भण्डारीले २०४९ सालमा खनेको जनताको बहुदलीय जनवादको राजमार्गमै आइपुगेको छ ।
विश्वमा कम्युनिस्ट आन्दोलन ओरालो लागेको बेला नेपालमा उकालो लाग्नुको निःसन्देह श्रेय मदन भण्डारीलाई जान्छ । कहिलेकाहीं लाग्छ– मदन भण्डारी नेपालको साटो चीन, रूस वा युरोपमा जन्मेको भए उहाँको व्यक्तित्व कसरी निर्माण हुन्थ्यो होला ? उहाँ सानो देशमा जन्मेका कारण सम्भवतः हामीले विश्वका अरू कम्युनिस्टहरूलाई त्यति प्रभावित गर्न सकेनौं, जति उनीहरूका विचारबाट हामी प्रभावित हुन्छौं । यदि उहाँमा केही विशिष्ट विशेषता हुँदैनथ्यो भने दुई विशाल भूगोलको बीचमा बल गरेर खोज्नुपर्ने नेपालमा आएर अमेरिकी पत्रिका ‘न्युजविक’ ले २७ मे, १९९१ मा ‘इन नेपाल, कार्ल माक्र्स लिभ्स्’ अर्थात् ‘नेपालमा कार्ल माक्र्स जीवित छन्’ भनेर अन्तर्वार्ता छाप्ने थिएन ।
चुनावमा त युरोपका कम्युनिस्टहरू पनि गइरहेका छन्, एशियाका अरू देशका पार्टीहरूले पनि भाग लिइरहेका छन् तर उनीहरूले सफलता किन पाइरहेका छैनन् त ? मदन भण्डारी यहींनेर अरू सबैभन्दा अग्लो देखिनुहुन्छ । कुनै विचार व्यक्त गर्नु एउटा कुरा हो तर जसरी गणितको सूत्र हो भने हिसाब–किताबमा सही सावित हुनुपर्छ, रसायनशास्त्रको सूत्र हो भने प्रयोगशालामा सही परिणाम आउनुपर्छ, त्यसैगरी राजनीतिक सिद्धान्त हो भने समाजमा त्यसको परीक्षण भएर सही सावित हुनुपर्छ ।
युरो कम्युनिज्मका नाममा चुनावमा जाने विचार कम्युनिस्ट आन्दोलनमा नआएको होइन तर कुनै ठाउँमा पनि त्यसको सफल प्रयोग भएन । मदन भण्डारीको अरूभन्दा फरक यही अर्थमा देखिनुहुन्छ– विचार पनि ल्याउनुभयो, प्रयोगमा पनि सफलता प्राप्त भयो । त्यही कारण आज अनेक चुनौती र टुटफुटका बाबजुद नेपालमा कम्युनिस्टहरूको जनमत घटेको छैन, बढिरहेको छ ।
७६ वर्षदेखि निरन्तर सत्तामा रहेका चिनियाँ कम्युनिस्टहरूको अनुभव चाहिं फरक छ । जुन वर्ष चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सफल भयो, त्यही वर्ष स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले हासिल गरेका सफलताका बारेमा उनीहरू बेखबर हुने कुरा त भएन तर क्रान्तिबाट स्थापित सत्ता चलाइरहेको पार्टी भएका कारण उनीहरूका र हाम्रा अनुभवहरू अवश्य फरक छन् ।
त्यति हुँदाहुँदै पनि आफ्नो देश अनुकूल माक्र्सवादलाई सिर्जनात्मक प्रयोग गर्नुपर्छ भन्नेमा चाहिं उनीहरू स्पष्ट छन् । त्यही भएर उनीहरूले यस ७६ वर्षको अवधिमा माओत्सेतुङ थट, देङ स्याओपिङ थ्यौरी, थ्यौरी अफ थ्री रिप्रिजेन्ट्स, साइन्टिफिक आउटलुक अन डेभलपमेन्ट हुँदै अहिले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादका सम्बन्धमा सी चिन फिङ विचारधारा’ (सी चिन फिङ थट अन सोसलिज्म विथ चाइनिज क्यारेक्टरिस्टिक फर अ न्यु एरा) अघि सारेका छन् । सी विचारधाराले चिनियाँ राज्य व्यवस्थाको लोकतन्त्रीकरण गर्ने अभ्यासका रूपमा नयाँ कार्यक्रम अघि सारेको छ— होल–प्रोसेस पिपुल्स डेमोक्रेसी अर्थात् समग्र–प्रक्रियायुक्त जनताको जनवाद ।
६ जना प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, मुख्यमन्त्री जस्ता प्रमुख पदहरूमा निर्वाचनबाट कम्युनिस्टहरू पुग्ने कुरा सामान्यतः अन्यत्र कतै कल्पना गर्न सकिंदैन । मदन भण्डारीले अघि सारेको विचारका कारण मात्रै नेपालमा या सम्भव भएको हो ।
मदन भण्डारीले नेपाली राजनीतिलाई कम्युनिष्ट पार्टीहरूको एकीकरण र नयाँ राजनीतिक रूपान्तरणको लागि नीतिगत र कार्यक्रमिक पुनर्संरचनाको खाका सिकाउनुभएको थिया े। यही काम नै भण्डारीको जीवनपर्यन्त र आजसम्म अमीट छाप छोडेर उभिइरहेको छ । तत्कालीन नेकपा माले र माक्र्सवादीबीच २०४७ पुस २२ मा विधिवत् एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी ( एमाले) को ‘केन्द्रीय संगठन समिति’को महासचिव मदन भण्डारी हुनुभय ो।एकतापछिको सांगठनिक संरचनालाई राजनीतिक मार्गनिर्देश गर्न उहाँले जनताको बहुदलीय जनवाद (जबज) जस्तो मौलिक सिद्धान्तको निर्माण गर्नुभयो। जसले कम्युनिष्ट पार्टीहरूलाई राजनीतिक प्रतिस्पर्धाबाट जनताको बीचबाट स्थापित गराउने राम्रो शिक्षा दियो। ३३ वर्षअघि मदनले लिएको त्यो बाटोले संसारभरका कम्युनिष्टहरूलाई सशस्त्र क्रान्तिको बाटो छाडेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्दा टिकिने रहेछ भन्ने नयाँ सन्देश प्रवाहित गर्न सफल भयो।
नेपालमा पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा गणतन्त्र र समाजवादी व्यवस्थाको स्थापनाको नाममा जब युद्ध, द्वन्द्व, कटुतापूर्ण प्रतिस्पर्धा हुन थाल्यो कम्युनिष्ट पार्टीभित्रकै सिर्जनात्मक सोचहरूलाई जबजकै पेरिफेरिमा नयाँ रूपान्तरण खोज्न प्रेरित गर्यो्। सशस्त्र युद्धरत कम्युनिष्ट पार्टी पनि बहुदलीय प्रतिष्पर्धामा सहभागी हुँदै जनमतमा विश्वास गर्ने ठाउँमा उभियो। नेपालमा पछिल्ला समय दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच एकता भइरहँदासम्म मदन भण्डारीको विचारको उपस्थितिले नेतृत्व गरिरहेको अनुभूति भएको थियो। कहिले तिक्ततापूर्ण सम्बन्ध र कहिले बाममोर्चा हुँदै कार्यगत एकता र पार्टी एकतासम्म आइपुगेको कम्युनिष्ट आन्दोलन फेरि टुटफुटको बाटोमा ओरालो लाग्ने अवस्था निर्माण भएको छ। नेकपा एमाले र नेकपा माओवादी भित्र पनि भएको विभाजनले कम्युनिष्ट आन्दोलनलाई थप रक्षात्मक बनाएको छ। यस्तो बेलामा मदन भण्डारी हुनुभएको भए भनेर फेरि एकपटक रिक्तताको महसुस गर्दै उर्जाको अपेक्षा गरेका छन्।
लोकतन्त्र, अग्रगमन, स्वाभिमान र समृद्धिको खुला सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादको जगमा नै पार्टी एकता भएको थियो भलै राजनीतिक कार्यक्रमको रूपमा जनताको जनवाद शब्द राखिए पनि। जनताको जनवादका विशेषता पनि जनताको बहुदलीय जनवादभन्दा भिन्न थिएनन्।खँदिलो वैचारिक एकता र उत्तम राजनीतिक लाइन वा समृद्ध र सिर्जनात्मक सिद्धान्तबिना राजनीतिक दल आफूभित्र बलियो हुँदै जनताको दिलमा बस्न सक्दैन। आफू र आफ्नो दललाई जनताको सेवक र देशको सच्चा निर्माताका रुपमा उभ्याउँदै जनताको हित, जीविका, स्वाभिमान, समृद्धि, दिगो विकास र एकतालाई सर्वस्व ठान्न सक्नुपर्छ। जब यो निष्ठा धर्मराउँछ, पार्टीहरू विगठनको बाटोमा जान्छन्।
जबज, माओवाद, प्रचण्डपथ र २१औं शताब्दीको जनवाद नेपालका सन्दर्भमा लेनिनवादको जगमा माओले समृद्ध पारेको नौलो जनवादका नेपाली संस्करण हुन्। २१औं शताब्दीको विश्वसँग प्रविधि र विश्वव्यापीकरणको नेटवर्कमा हामीले गर्नुपर्ने प्रतिस्पर्धाका लागि हाम्रो देश समृद्ध एवं बलियो र जनता सुखी हुन जरुरी छ।
मदन भण्डारीले सुरु गर्नुभएको जबज नेपालका लागि मात्र नभै विश्व कम्युनिष्ट आन्दोलनकै लागि आशाको पुञ्ज बनिरहेको थियो। त्यसको एक दृष्टान्त अमेरिकी पत्रिका ‘न्यूजविक’ ले २७ मे १९९१ मा गरेको प्रकाशन हो। ‘नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन्’ शीर्षकमा छापेको जननेता भण्डारीको अन्तर्वार्ताले विश्वलाई नयाँ सन्देश दिएको थियो। मदन भण्डारीको राजनीतिक, वैचारिक र सांगठनिक रूपमा सच्चा उत्तराधिकारी बन्ने अवसर नेपाली कम्युनिष्ट आन्दोलनलाई आएको थियो। तर अझै पर्याप्त ध्यान दिएर नसच्चिने हो भने यो अवसरबाट समकालीन नेतृत्व विमुख हुनेछ। टुटफुट र ओरालो यात्रामा जाने वातावरणको हिस्सेदारहरूले मदन भण्डारीको बाटोमा छु भन्दा दुनियाँले पत्याउने अवस्था नहुन सक्छ।
जनताको बहुदलीय जनवादनेपाली क्रान्तिको मौलिक र माटो सुहाउँदो कार्यक्रम हो। यसले बहुदलीय पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रमभन्दा भिन्न विशेषता ग्रहण गरेको छ। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, स्वाधीनता, मानवाधिकारको रक्षा, आवधिक निर्वाचन, स्वाभिमानमा आधारित विदेशनीति आदि यसका विशेषता हुन्। यी सैद्धान्तिक विशेषतालाई कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण कार्यक्रम भनेर पनि चिनियो। यही कार्यक्रमका आधारमै विश्व कम्युनिष्ट आन्दोलनले कम्युनिष्टहरूको लोकतान्त्रिकरणलाई आफ्नो भविष्यको रूपमा बुझ्ने र व्यवहार गर्ने मौका पाए। पार्टी एकताका समयमा शक्तिमा भन्दा सम्मान का रूपमा भन्दा व्यवहार र भावनामा एकता गर्नुपर्ने सन्देश सहित नीजि चाहना, पदीय अभिमानहरूलाई कहिल्यै कतै पनि उठ्न नदिनुभएका मदनको सांगठानिक कार्यशैली सधैका लागि अनुकरणीय छ े।
पार्टीको आन्तरिक जीवनको संवेदनशील घडीमा संयम, फरक मत प्रतिको सम्मान, विरोधका स्वर सुन्न सक्ने धैर्यता, जनताप्रति उत्तरदायी, जनताबाट नियन्त्रित हुनुपर्ने मदन भण्डारीको विचारलाई व्यवहारमै उतार्न सके मात्रै उहाको पदचाप पछ्याउन सकेको ठहरिनेछ। यी व्यवहारमा सुधार नल्याउनेहरूमुलुकको मियो बन्न सक्दैनन् भन्ने जननेता भण्डारीको भविष्यवाणीलाई राजनीति गर्नेले गुरुमन्त्रको रूपमा लिनुपर्छ। यसर्थ भण्डारी कम्युनिष्ट राजनीतिका लागि मात्र नभै सिंगो राजनीतिका गुरु हुन्।राष्ट्रियताका सवालमा मदन भण्डारीले लिनुभएको अडानलाई तत्कालीन शासकहरू अर्थात् राजतन्त्र पक्षधरहरूले समेत समर्थन गर्ने गरेका थिए। उनीहरू स्वयं आफ्नो प्रशंसा गर्नैपर्ने भएकाले भन्थे राजाभन्दा पछि राष्ट्रवादी त कम्युनिष्ट पो हुँदा रहेछन्। जबजमा मदनले भन्नुभएको छ– १९औं शताब्दीको सुरुदेखि नै नेपाल राष्ट्रिय स्वाधीनताका निम्ति संघर्षमा उत्रन बाध्य भएको छ।

ब्रिटिस इन्डिया, स्वतन्त्र भारत तथा ब्रिटेनसँग असमान एवं अपमानपूर्ण, राष्ट्रिय हित र स्वाधीनतामाथि आघात पार्ने अनेक सन्धि–सम्झौताहरू भएका छन् र कायम पनि छन्। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग पनि हाम्रो राष्ट्रिय हितप्रतिकूल हुनेगरी सम्झौताहरू भएका छन्। यसकारण नवउपनिवेशी शोषणबाट मुक्त हुने स्वाधीनताको संघर्ष जारी छ। जबजले उतिबेलै भनेको थियो– क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासलाई पार्टीको लक्ष्य बनाउनुपर्छ। अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ, यसैलाई प्राथमिकता दिनु जरुरी छ। सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास सम्भव छैन।नेपाली कम्युनिष्ट आन्दोलन धर्मराएजस्तो अवस्थामा रहेका बेला सिंगो कम्युनिष्ट आन्दोलनप्रति भरोसा राख्नेहरूले एकपटक छातीमा हात राखेर आफूहरूले लिएको गलत बाटोको जिम्मेवारी लिँदै सच्चिने संकल्प गर्न जरुरी छ। जबज, माओवाद, प्रचण्डपथ र २१औं शताब्दीको जनवाद नेपालका सन्दर्भमा लेनिनवादको जगमा माओले समृद्ध पारेको नौलो जनवादका नेपाली संस्करण हुन्। २१औं शताब्दीको विश्वसँग प्रविधि र विश्वव्यापीकरणको नेटवर्कमा हामीले गर्नुपर्ने प्रतिस्पर्धाका लागि हाम्रो देश समृद्ध एवं बलियो र जनता सुखी हुन जरुरी छ।
जननेता भण्डारीले ५–७ मे १९९३ मा कलकत्तामा आयोजित‘समकालीन विश्वपरिस्थिति र माक्र्सवादको सार्थकता’ विषयक कार्यपत्रमा उल्लेख गर्नुभएको थियो–‘माक्र्सवाद विश्वमा असफल भएको होइन, बरु सोभियत नमुना मात्र असफल भएको हो।’ माक्र्सवादप्रतिको प्रतिबद्धतासँगसँगै उहाँले माक्र्सवादको प्रयोग नेकपा एमालेले नयाँ ढंगले गरिरहेको उल्लेख गर्दै यसका लागि वाम आन्दोलनको ४० वर्ष खर्चिएर जबजका कार्यक्रम तय गरिएको बताउनुभएको थियो। यही जबजकै जगमा फेरि छरिएका वामपन्थी दलहरूलाई एकीकृत पार्नेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवर्तित राजनीतिक वस्तुस्थितिमा माक्र्सवादलाई बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र र गणतन्त्रलाई जोगाउँदै समाजवाद स्थापनाको गन्तव्यमा पुग्न सके मात्रै मदन भण्डारीको पदचाप पछ्याउन सकिन्छ।े
हाम्रो पुस्ताका आदर्श राजनेता कमरेड मदन भण्डारीप्रति हार्दिक श्रद्धा–सुमन !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित