सार्थक ब्यूरो । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको ज्यान गएको छ । नौ सय आठ जना घाइते भएका छन् ।देशका सबैजसो क्षेत्र चट्याङको जोखिममा छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताउनुभयो ।
उहाँका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको तथ्याङकमा चट्याङका एक हजार एक सय १८ वटा घटना भएका छन् । एक हजार ६ सय ७ परिवार प्रभावित बनेका छन् विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्ने श्रेष्ठले बताउनुभयो । विशेषगरी घरगोठ र अग्ला रुख तथा टावरमा चट्याङ पर्छ । बर्खामा किसान चट्याङबाट बढी प्रभावित हुने गरेका छन् ।
चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा धेरै रहेको प्राधिकरणका सहसचिव श्रेष्ठले जानकारी दिनुभयो ।विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा ५१ जनाको ज्यान गएको र ८४ जना घाइते भएका उहाँले जानकारी दिनुभयो ।त्यस्तै कोशीमा तीन सय ६६ घर प्रभावित बनेका छन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको ज्यान गएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ ।
यस्तै लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित भएका छन् । सहसचिव श्रेष्ठका अनुसार सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् ।
प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना घाइते भएका छन् ।नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिनुभयो । चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उहाँले बताउनुभयो ।
सहप्राध्यापक सिग्देलका अनुसार अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उहाँले बताउनुभयो ।
सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाइएको पनि उहाँले जानकारी दिनुभयो । खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईवस्तु चराउनेलगायतका काम बिहान अर्थात् मध्यान्ह अगाडि नै गरिसक्ने र मेघगर्जनका बेला खुला ठाउँमा नजाने हो भने मानवीय क्षति न्यूनीकरण हुने उहाँको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार बिग्रिएर थन्किएका छन् ।
ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घन्टादेखि एक घन्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिनुभयो । राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने ठाउँको विश्लेषण गर्ने उहाँले बताउनुभयो ।घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उहाँले बताउनुभयो ।
स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


















Discussion about this post