तारा राजावादीको बयान “आगो मैले लगाएँ

सार्थक ब्यूरो । राजावादी सुरक्षा दस्ता ‘अनवरत तत्पर फौज(एटीएफ) का सदस्य सरोज गौतम उर्फ तारा राजावादीले चैत १५ गतेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत फेला परेका घरमा आफैंले आगो लगाएको स्वीकारेका छन्।
आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। सो मुद्दामा तारा राजावादीसमेत प्रतिवादी छन्।
प्रहरी समक्ष दिएको बयानमा उनले आफू चैत १५ गते बिहान १० बजे नै प्रदर्शन स्थलमा पुगेको बताएका छन्। उनका अनुसार सो दिनको कार्यक्रमको तयारीका लागि दुर्गा प्रसाई, धवल शमशेर जबरा, रवीन्द्र मिश्र लगायतसँग पटकपटक संवाद भएको थियो।
उनको भनाइअनुसार रविन्द्र मिश्र र धवल शमशेर स्टेजबाट सम्बोधन गरिरहेका बेला दुर्गा प्रसाई नेतृत्वको समूह निषेधित क्षेत्रतर्फ गाडी कुदाउँदै संसद् भवन कब्जा गर्नुपर्ने उत्तेजक भाषण दिइरहेको थियो। त्यसक्रममा उनी आफैंले पनि भिडलाई उक्साएर घटनास्थलसम्म पुर्‍याएको बताएका छन्।
घटनास्थलमा पुगेपछि प्रहरीले रोक्न खोजे पनि उनी र प्रसाईँ हिँडेरै अघि बढेको र केहीबेरमै भिडले प्रहरीमाथि ढुंगा प्रहार सुरु गरेको उनको बयानमा उल्लेख छ। यद्यपि, त्यसैबीच पाँचतले पक्की घरको सटर गेटमा रहेको तालो फुटाएर उनी भित्र पसेको बताउँछन्।
त्यसपछि भइरहेको तोडफोड, लुटपाट र आगजनीबीच गोकर्ण शाहीको हातमा रहेको लाइटर लिई आफैंले आगो लगाएको स्वीकार गर्दै राजावादीले भनेका छन्, “आगो लगाएर म डेरा फर्किएँ, पछि सामाजिक सञ्जालबाट पत्रकार सुरेश रजकको त्यही आगलागीमा मृत्यु भएको थाहा पाएँ।”रजक एभिन्यूज टेलिभिजनका पत्रकार थिए, जो घटनास्थलमा फोटो र भिडियो खिचिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित