–रनि विवश
भीमदत्त नगरपालिकाको सबैभन्दा कान्छो वडा भनेर चिनिन्छ वडा नं. १९ अर्थात बागफाँटा । भीमदत्त नगरपालिका २०३४ मा स्थापना हुँदा यो वडाको केही भाग अर्थात पूरानो वस्ती तत्कालिन महेन्द्रनगर पञ्चालयतको २ नम्बर वडामा पथ्र्यो । पूरानो बस्ती बाहेकको बाँकी क्षेत्र घनघोर जङ्गल थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रबाट विस्थापितलाई जङ्गल कटान गरी बसाइयो । २०३६ मा निकुञ्ज अर्थात तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापितलाई पुनस्र्थापन गरियो । २०४६ को जन आन्दोलनपछि छुट्टै वडाको माग उठ्यो । त्यसको दुई वर्ष २०४८ मा १९ नम्बर वडा तत्कालिन महेन्द्रनगर नगर पञ्चायतको १९ औं वडा बन्यो । अहिले यो वडा भीमदत्त नगरपालिकाको १९ नम्बर वडा हो । २०६५ मा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि तत्कालिन महेन्द्रनगर नगरपालिकाको नाम फेरियो । किसान नेता सहिद भीमदत्तको पन्तको सम्मानमा भीमदत्त नगरपालिका नामाकरण गरियो । यसलाई बागफाँटाको नामले चिनिन्छ ।

सिद्धनाथ विज्ञान क्याम्पस र तत्कालिन बहुमुखी क्याम्पस स्थापनाका लागि २०३८ मा जमिन अधिग्रहण गरी वासिन्दालाई बागफाँटामा सट्टाभर्ना गरिएको थियो । उनीहरुको वस्तीलाई अहिले पनि पूरानो वस्ती भन्ने गरिन्छ । यो पूराना वस्ती नै नयाँ वडा बन्न अघिसम्म २ नम्बर वडामा थियो । पूरानो वस्ती बाहेक सबै क्षेत्रमा घना जङ्गल थियो । त्यस बेला २ नम्बर वडाका वासिन्दाका गाई वस्तु चराउन यहाँ आउने गर्थे । ती गाई वस्तुलाई बाघले दैनिक रुपमा खाने गथ्र्यो । बाघले दैनिक रुपमा गाई वस्तु खाने भएपछि यसको नाम बागफाँटा राखिएको भनाई छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार र घना वन क्षेत्र भएकाले बाघको बासस्थान त्यहीं थियो । पछि २०३६ मा तत्कालिन आरक्षबाट विस्थापित परिवारलाई त्यस क्षेत्रमा सट्टा भर्ना दिइयो । पूरानो वस्ती र आरक्षको सट्टा भर्ना पाएर बसेका वासिन्दाका वस्तीलाई मिलाएर २०४८ मा नयाँ वडा बनाइएको थियो । त्यसैले यो वडा भीमदत्त नगरपालिका भन्दा १५ वर्ष कान्छो छ । कान्छो भए पनि यो वडामा भीमदत्तको १९ वडामा समान हैसियतमा छ ।
१९ नम्बर वडाको तीन तीनर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ । अनि तीन तीर नदीले घेरिएको छ । ९ टोल भएको वडामा एक हजार बढी घरधुरी छन् । तीन हजार बढी मतदाता भएको वडामा आदिवासी जनजाति (चौधरी राना), ब्राह्मण क्षेत्री, दलित लगायतका समुदायका बसोबास छ । आदिवासी जनजातिमा राना र चौधरी दुबै बराबरी छन् । अर्थात यस वडामा ४२ प्रतिशत राना र चौधरी छन् । अहिले आदिवासी जनजाति समुदायका जग्गु राम चौधरी वडा अध्यक्ष छन् । अघिल्लो कार्यकालमा दामोदर महरा वडा अध्यक्ष थिए ।

यो वडामा सबैभन्दा बढी चोक र बाटोहरु छन् । चोकहरुको गणना गरिएको छ । वडा कार्यालयका अनुसार २८ चोक छन् । ती सबैका चोकका आ–आफ्ना विशेषता छन् । बाटोको अझैससम्म गणना हुन सकेको छैन । बाटोहरुमध्ये अधिकाँश बाटो कच्ची छन् । २०७४ पछि मात्रै वडामा कालोपत्रे बाटो बन्न थालेको हो । अहिले पनि वडामा कालोपत्रे सडक बन्ने क्रम चलि रहेको छ ।
सट्टा भर्ना गरी वस्ती बसाउँदा प्लानिङ्ग गरिएकाले अत्यधिक मात्रामा बाटो निर्माण गरिएको बताइन्छ । त्यस बाहेक पछि बसाई सराई गरी आउने थपिएपछि नयाँ बाटो थपिने क्रम चल्यो । अहिले पनि नयाँ बाटो खोल्ने क्रम जारी छ । त्यसैले वडामा कति बाटा छन् भन्ने यकिन तथ्याङ्ग भेटाउन मुस्किल छ ।
अत्यधिक बाटो र चोकहरु यो वडाको पहिचानका रुपमा लिन सकिन्छ । चोकहरुमा चार चोक प्रख्यात छन् । पिसिओ चौराह, खन्ना चौराहा, कुबेर चोक र पञ्चमुखी चोक वडाका चर्चित चोकका रुपमा परिचित छन् । ती चारै चोकको आ—आफ्नै विशेषता छन् । अन्य चोक पनि स्थानीयका लागि भेटघाट, गफगाफ र आराम गर्ने चौतारी बनेका छन् ।
२०८२ जेठ १९ गते सोमबार दिउँसो प्रचण्ड गर्मी थियो । पिसिओ चोकको पसल र पिपल चौतारीमा स्थानीयहरु बसि रहेका थिए । उनीहरुमध्ये कोही पिपल चौतारीमा बसेर गफ गरि रहेका थिए । कोही चौतारोमा पल्टेर आराम गरि रहेका थिए । चोक वारपार गरी फाटफुट सर्वसाधारणको आवतजावत पनि हुँदै थियो । यो चोकमा सदा स्थानीय भेटिन्छन् । टेलिफोनमा सहज पहुँच र मोबाइल फोन आउन अघिसम्म बागफाँटाका वासिन्दा फोन गर्न यही चोकमा आउँथे । स्थानीयले यहीं चोकमा पिसिओ चलाएका थिए । ती पिसिओ चलाउने मान्छे बुढा थिए । पछि मोबाइल फोन आएपछि पिसिओ बन्द भयो । चोकको नाम भने पिसिओ रह्यो । यो चोकलाई सबैभन्दा ठूलो चोक भन्ने गरिन्छ ।

पिसिओ चोकपछि खन्ना चोक अर्को चर्चित चोक छ । भीनपा २ र १९ को सीमा क्षेत्रमा छ यो चोक । यो चोकको पनि आफ्नै पहिचान छ । यो चोकमा राजेश स्वाँरको सबैभन्दा पूरानो पसल थियो । पछि उनले अर्कोलाई पसल बेचे । पसल अहिले पनि छ । राजेश स्वारलाई राजेश खन्ना भन्दै गर्दा पछि चोकको नाम नै खन्ना चौराह रहन गयो । खैरभट्टी भएर जाँदा पुल पार गरेपछि कच्ची बाटो हुँदै यो चोकमा पुगिन्छ । यो चोक पशुपति टोल र बैजनाथ टोलको सीमा क्षेत्रमा छ ।
पाँच ओटा बाटो मिलेर बनेको अर्को चोक छ पञ्चमुखी चोक । शुक्लाफाँटा पर्यटन मार्ग, सद्भावना टोल, शुक्रराज टोल जाने बाटो मिलेर बनेको संगमलाई पञ्चमुखी चोक नामाकरण गरिएको छ । स्थानीय कुँबर थरका वासिन्दाले सञ्चालन गरेको पसलका कारण अर्को चोक कुँबर चोक बनेको छ । यो चोक पनि चर्चित छ ।
भीमदत्त नगरपालिका १८ र २ नम्बर वडासित सीमा जोडिएको छ १९ नम्बरको । तीन तीरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट फाइदा लिन सकेको छैन । बरु वर्षौदेखि निकुञ्ज जनावरबाट स्थानीय पीडित छन् । वडाको पूर्व पश्चिम, उत्तर र दक्षिणतिर निकुञ्ज छ । निकुञ्जका हात्तीले कहिलेकाँही मान्छेको ज्यान लिएका घट्ना छन् । निकुञ्जका जङ्गली जनावरले स्थानीयको बालीनाली खाने समस्या पूरानो हो । अहिले चितुवाले तीन चार दिन बिराएर बाख्रा खाने गरेको छ । तीन दिन अघि जेठ १६ गते मात्रै हात्तीले घर भत्कायो । यस अघि तीन जनाको घर भत्काईको सकेको छ । हात्तीबाट जोगिन स्थानीयले रात दिन चनाखो भएर बस्नु पर्ने बाध्यता छ । नत्र हात्तीले ज्यान लिन सक्छ । हात्ती, चित्तल, चितुवा, सँगरबाट स्थानीय पीडित छन् । मेसवायर लगाएर नियन्त्रणको प्रयास गरिएको छ । सबै क्षेत्रमा बजेट नभएर मेस वायर लगाउन नसकिएकाले जंगली जनावर बालीनाली नोक्सान गर्दै आएका छन् ।
यो वडामा खेतीपाती योग्य जमिन भएको वडामा पर्छ । खाद्य बाली, तेलहन, दलहन, तरकारी लगायतका सबै खेती हुन्छ । तरकारी खेती गरी जीविका चलाउने वासिन्दा बर्सेनी बढ्दै गएका छन् । अहिले टाउको तरकारी राखेर बेच्नेमा सबैभन्दा बढी महिला यही वडाका छन् । राना चौधरीका समुदायका अधिकाँश महिलाहरु तरकारी खेती गर्छन् । नदी कटान र बाढीले खेती योग्य जमिन बर्सेनी क्षयीयकरण हुँदै गएको छ । यसबाट स्थानीय थप चिन्तित छन् । खेती योग्य जमिन बचाउन तीन तहका सरकारसित हारगुहार गरि रहेका छन् । पछिल्लो पटक नदी नियन्त्रणका प्रयास भएका छन् । चौधरी लगायतका नदी तटबन्ध निर्माणका कार्य गरिएका छन् ।
तीन तीरका नदीले खेती योग्य जमिन कटान गर्दै लगे वासिन्दालाई भोकमरीको अवस्था आउन सक्छ । चुरे क्षेत्रबाट आउने पूर्वको चौधर नदी, गोबरैया र भासी खोलामा चुनौतीका रुपमा छन् । निकुञ्ज क्षेत्रमा यी तीन नदी एक आपशमा मिल्छन् । बर्खा याममा ती नदीले वासिन्दालाई गहिरो घाउ बनाउँछन् । बाढी र कटानले हालसम्म धेरै जनता त वस्ती छाडेर विस्थापित भइ सकेका छन् । समयमा तटबन्ध निर्माणका कार्य नगरिए भविष्यमा किनारका वस्ती सखाप हुनेमा दुई मत छैन ।

शिक्षा स्वास्थ्यका लागि वडामा विद्यालय र स्वास्थ्य केन्द्र छन् । वडाभित्र ५ शिक्षण संस्थामा छन् । त्यसमा दुई सामुदायिक र एक आधारभूत तथा दुई संस्थागत विद्यालय छन् । वडाका वासिन्दालाई स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य केन्द्र छ । अधिकाँश वासिन्दा कृषिमा पेशा संलग्न छन् । मजदुरीका लागि दैनिक यसबाट १ सय १८ साइकल बाहिरिने गर्छन् । सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक सहित विभिन्न पेशा व्यवसायमा यहाँका वासिन्दा छन् ।
१९ नम्बर भीमदत्तको सबैभन्दा पुछारको वडा हो । पुछार भएको यो वडामा विकासको हिसाबले पनि पछाडि छ । विकासका अथाह सम्भावनालाई सदुपयोग गर्न सकिएको छैन । शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट लाभ लिन सकिने स्थानीयको अपेक्षा छ । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकालमा पर्यटन मार्ग निर्माण थालिएको थियो । बागफाँटा र झोलुङ्गे पुल जोड्ने गरी पर्यटन मार्ग निर्माण भई रहेको छ । पर्यटन मार्गले निकुञ्ज किनारका वस्तीमा हुने जङ्गली जनावरबाट हुने बालीनाली क्षतिलाई पनि रोक्न सकिने अपेक्षा गरिएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनबाट वडाको विकासको जिम्मा जग्गा राम चौधरीलाई दिइएको छ । २०७४ मा पहिलो पटक चुनाव लड्दा पराजित उनी २०७९ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका नेता चौधरी राइस मिल मजदुरबाट राजनीतिमा आएर वडा अध्यक्ष भएका छन् । ५३ वर्षका चौधरी उनी जनप्रतिनधिमा सोझा, इमान्दार र सरल जीवनशैलीका जनप्रतिनिधि हुन् । १७ वर्ष मजदुरी गरेको गाउँको राइस मिल छाडेर उनी चुनाव लडेका थिए । राइस मिलको चिनजाले चुनाव जित्न सजिलो भएको वडा अध्यक्ष चौधरीको अनुभव छ । चुनाव जितेपछि सबैबाट साथ सहयोग पाएर वडा हाँकि रहेका छन् ।


















Discussion about this post