किन भने भीमदत्तको योगदानको कदर गर्दै नेपाल सरकारले पुर्व राजा महेन्द्रका नाममा स्थापित महेन्द्रनगर नगरपालिकालाई २०६५ साल कार्तिक २० गते नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट भीमदत्त नगरपालिका नामाकरण गरिएको हो । यस क्षेत्रका पिछडा वर्गको उत्थानका लागी बलिदानीपूर्ण संघर्ष गर्ने पन्तको सम्मानमा २०५१ सालमा अमर शहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठान नामक संस्था खोली शहिद घोषणा गर्न र वहाँको विचारलाई शसक्त रुपमा अघि बढाउनका लागी सम्बद्ध सबै निकायसँग प्रतिष्ठान अनुरोध गर्दै आएको छ । प्रतिष्ठानको अनुरोधलाई नेपाल सरकारले सहयोग गरी २ तला कार्यालय भवन र संग्रहालय निर्माणका हल निर्माण गरिएको छ । संग्रहालय निर्माणका लागी ३ करोड आवश्यक रहेकोमा सरकारसँग बारम्बार अनुरोध गर्दा स्थानीय नगरपालिकाबाट गुरुयोजना (डिपिआर) तयार गरि ल्याउनुस भन्ने जवाफ भए अनुसार डिपिआरका लागी भीमदत्त नगरपालिकामा पत्राकार गरेको २ महिना बढि वित्दा समेत पत्र दर्ता गरि राखिएको छ । विभिन्न शहिदहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई स्थानीय, प्रदेश र केन्द्र सरकारबाट विभिन्न किसिमका योजना परियोजनाहरु चलिरहेका छन । सरकारले लगानी गरेको छ । यस क्षेत्रका किसिान योद्धा गरिखाने वर्गका सच्च हितैसी भीमदत्त पन्तलाई शहिद घोषणा गराउन समेत लामै समय लाग्यो । सहिद घोषणा गरिएपछि सरकारी स्तरबाट महेन्द्रनगर नगरपालिकाको नाम भीमदत्त नगरपालिका बनाइयो । भीमदत्त नगरपालिका घोषणा भएको पनि १७ वर्ष वित्न लागेका छन । भीमदत्त नगरपालिकाले शहिद पन्तका नाममा १७ रुपिया पनि खर्च गरेको छैन भन्दा अतिशयोक्ती हुदैन । भीमदत्त पन्तको जन्मोत्सव र स्मृति दिवसमा अतिथि भएर सहभागी भई दिनुस भन्दा सहभागी नै नहुने गरेको छ । यो भन्दा ठूलो शर्मसार र शहिद प्रतिको अपमान के हुन सक्छ । नगरपालिकाले आफ्नै लगानीमा गर्नुपर्ने काम नगरेपछि शहिद पन्तका विचार अगाडी ल्याउनका लागी स्थापित शहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले नेपाल सरकारसँग कार्यालय भवन र संग्रहालय निर्माणका लागी सहयोग मागेकोमा नेपाल सरकारको सहयोगमा २ तले भवन निर्माण
गरिएको छ । तत्कालीन २०७३ को जिल्ला विकास समिति मार्फत नेपाल सरकारले उपलब्ध गराएको बजेटले घर निर्माण गर्न तत्कालीन महेन्द्रनगर नगर विकास समितिले अढाई कठ्ठा जमिन जिविस मार्फत प्रतिष्ठानलाई उपलब्ध गराएको र सोही जग्गामा भवन निर्माण गरी कार्यालय सञ्चालन भई रहेको छ । भीमदत्त संग्रहालयका लागी हल (सभाकक्ष) निर्माण भएको छ । संग्रहालयमा सजिनका लागी आवश्यक रकम बजेट अभावमा सम्पन्न गर्न सकिएको छैन । भीमदत्त नगरपालिकाले गुरुयोजना(डिपिआर) तयार नगरि दिएका कारण नेपाल सरकारले समेत बजेट विनियोजन गरि दिएको छैन ।
शहिद प्रति गरिन लागेको अपमानजनक व्यवहारमा यहाँका राजनैतिक दलहरु तै चुप मै चुपको अवस्थामा रहेको छन । उसो त केही राजनैतिक दलका नेताले सार्वजनिक रुपमा भीमदत्तका भनाईहरुलाई उद्धृत गर्दै आफ्नो सम्बोधन गर्ने गरेका छन । तर व्यवहारमा शहिद प्रति भईरहेको अपमान प्रति कोही किन बोली रहेका छैनन् । शहिद पन्तका विचार आज पनि त्यतिकै सान्दर्भिक छन । शहिद पन्तले “कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो ।” एक साहसिक योद्धा, किसान आन्दोलनका सुत्रधार भीमदत्त पन्तले आज भन्दा ७४ वर्ष पहिले लगाएको नारा हो यो । नेपालको किसान आन्दोलनको यात्रामा समेटिएको एक विद्रोही नाम हो भीमदत्त पन्त ।
२००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिएका पन्तले २००७ सालमा राजा, राणा र कांग्रेसका बीचमा भएको त्रिपक्षीय दिल्ली सम्झौताको विरोध गरे । २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि कांग्रेस छाडे र कम्युनिष्ट पार्टीमा लागे । २००७ साल पौष २६ गते डडेल्धुरालाई मुक्तिसेनाले कब्जामा लिएपछि भीमदत्त पन्त गभर्नर बने ।
बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो,
गरिबका दिन आया ठालुको काल आयो
यो गीत गाउँदै पन्तले देशमा प्रजातन्त्र प्राप्त भए पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा देखा परेका असमानता कायमै रहेको भन्दै आन्दोलन सुरू गरे । वि.सं. २००८ सालको अन्त्यतिर
‘कि त जोत हलो, कि त छोड थलो
यदि होइन भने अब छैन भलो’,
‘किसान राज जिन्दावाद’, ‘शोषक सामन्त मुर्दावाद’, भन्दै कैलाली, कञ्चनपुर र डडेल्धुरालाई केन्द्र सशस्त्र किसान विद्रोह सुरु गरे । उक्त विद्रोहले सामन्त, जमिन्दार र सरकारलाई निकै त्रसित बनायो । ‘तमसुक फाड आन्दोलन’ सुरु भयो । तमसुक नच्यात्नेलाई निशाना बनाइयो । ‘रोजिरोटी कपडा दे, नत्र गद्धी छोडिदे’ जस्ता नारा लगाउँदै ती क्षेत्रहरू किसानहरूको नियन्त्रणमा आए । ७४ वर्ष अघि भीमदत्त पन्तले अनुभव गरेको समाज आज पनि उस्तै छ । विभिन्न प्रकारका विभेदहरू कायमै छन्, समान्ती उत्पीडन कायमै छ, भ्रष्टाचार र महँगी मौलाएको छ, लाभान्स र निर्णय प्रक्रियामा अहिले पनि हुने खानेहरुकै बोलबाला छ । प्राकृतिक स्रोत र साधनमा आम जनताको पँहुच छैन । यो वा त्यो वहानामा आजसम्म पनि राष्ट्रियतामाथि प्रहार भइरहेको छ । अर्थात् नेपाली जनताले अहिले पनि स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन् । देशमा संघात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । भीमदत्त पन्त आवद्ध भएको दुवै पार्टीको सरकार छ । अधिकांश प्रदेश सरकारहरु छन, अधिकांश पालिकाहरु छन र पनि भीमदत्त प्रति सम्मान जनाउन सकेका छैनन् । भीमदत्तको सिद्धान्तलाई आत्मसाथ गर्न सकेका छैनन् । सस्तो लोकप्रियताका लागी राजाका नाममा रहेको महेन्द्रनगरलाई भीमदत्त नगर भन्दैमा परिवर्तन सम्भव छैन । अतः शहिदको अपमान गर्न बन्द गर, शहिदको सम्मान र विचारको अभिबृद्धि गर भन्दै दवाव दिनु पर्ने आजको आवश्यकता बनेको छ । त्यसकारण भीम आज पनि त्यतिकै आवश्यक छन् ।


















Discussion about this post