सार्थक ब्यूरो ।यो वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा असारको पहिलो साता आउने भनिएको थियो। तर अब त्यसमा ढिलाइ भएको छ। परीक्षा बोर्डले असारको तेस्रो साताभन्दा अगाडि नतिजा आउन नसक्ने बताएको छ।
एसईई नतिजा ढिलाइनुको मुख्य कारण शिक्षकमहासंघको आन्दोलन हो। गत चैत २० गतेदेखि देशभरका शिक्षकहरूले २९ दिनसम्म आन्दोलन गरेपछि उत्तरपुस्तिका परीक्षणको काम समयमा सुरु हुन सकेन।
“शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो। त्यतिमात्र होइन, परीक्षा केन्द्रबाट उत्तरपुस्तिका आउन र जानमा दुई दिन लाग्यो। त्यसैले परीक्षण ढिला भयो,” परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। बिहानदेखि बेलुकासम्म कर्मचारीहरूलाई खटाएर परीक्षणको काम भइराखेको छ। केही केन्द्रमा परीक्षण बाँकी छ। परीक्षण सकिएपछि इन्ट्री र रुजु गरेर त्रुटि नभएको सुनिश्चित भएपछि मात्रै नतिजा सार्वजनिक गरिन्छ।”
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि (पुरक परीक्षा) तर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए। यस हिसाबले जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीले परीक्षा दिएका थिए।


















Discussion about this post