एमालेले देश बनाउन सक्छ भन्ने पुष्टि भइसकेको छ : महासचिव शंकर पोखरेल

सार्थक ब्यूरो ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेले मुलुकको समृद्धि, स्वाधीनता र युवाको भविष्यका लागि यथार्थमा काम गरेर देखाएको दाबी गर्नुभएको छ।बिहीबार काठमाडौंमा आयोजित एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, “देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ। एमाले कुरा मात्र होइन, कामद्वारा प्रमाणित भएको पार्टी हो।”
उहाँले एमाले नेतृत्वको सरकारले ग्यास, फलाम जस्ता खानीहरूको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका तयार गरी नयाँ युगको थालनी गरेको दाबी गर्नुभयो। “विगतका शासकले कल्पनासमेत नगरेका काम हामीले गर्न सकेका छौं,” उहाँले भन्नुभयो।
युवा पलायन र समाधानको खाका
महासचिव पोखरेलले नेपाली युवाको विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधान केवल नारा र भावना होइन, नीति, अवसर र संरचनात्मक रुपान्तरण भएको उल्लेख गर्नुभयो। “हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान थालेका छन्। यसको समाधान राज्य, राजनीति र समाजले अर्थपूर्ण ढंगले नयाँ पुस्तालाई जोड्न सकेमा मात्र सम्भव हुन्छ,” उहाँको भनाइ थियो।


बजेटको प्राथमिकता युवामै केन्द्रीत
सरकारको हालैको नीति, कार्यक्रम र बजेटले स्वरोजगार, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार विकासलाई प्राथमिकता दिएको पोखरेलले उल्लेख गर्नुभयो। “यसले युवालाई देशमै अवसर सिर्जना गर्दै राख्ने प्रयास गरेको छ,” उहाँले भन्नुभयो।
उहाँले बजेटप्रति उठेका आलोचनाहरूलाई स्वाभाविक बताउँदै समग्रमा नीति तथा कार्यक्रम सन्तुलित र कार्यान्वयनमुखी भएको टिप्पणी गर्नुभयो। “यदि यसको प्रभावकारी कार्यान्वयन भयो भने थुप्रै संरचनात्मक समस्याहरू समाधान गर्न सकिन्छ,” उहाँको धारणा थियो।
एमालेमाथि आलोचना शक्तिको परिणाम
हालैको राजनीतिक सन्दर्भमा एमालेमाथि भइरहेका प्रहारहरू नियोजित भएको आरोप लगाउँदै महासचिव पोखरेलले भने, “जब एमाले बलियो हुन्छ, अराजकता फैलाउन सकिंदैन। त्यसैले नियोजित रूपमा हामीमाथि हमला भइरहेको छ।”
उहाँले एमालेलाई आधुनिक राष्ट्र निर्माणको पर्यायका रूपमा चित्रण गर्दै विगतमा एमाले नेतृत्वमा सुरु गरिएका राष्ट्रिय गौरवका योजनाहरू—जस्तै ग्यास र फलाम खानी पत्ता लगाउनेदेखि पूर्वाधार विस्तारसम्म—प्रमाणका रूपमा प्रस्तुत गर्नुभयो। “योजना त केवल खाका हो, हामीले त तिनलाई कार्यान्वयनमा पुर्‍याउने आँट गरेका छौँ,” पोखरेलले भन्नुभयो।
कार्यकर्ताको भूमिकामाथि आलोचना
पार्टीभित्रका कार्यकर्ताको भूमिकाप्रति पनि महासचिव पोखरेलले आलोचनात्मक टिप्पणी गर्नुभयो। उहाँले पार्टीको वैचारिक बहस र नीति निर्माणभन्दा सामाजिक सञ्जालमा भोजभतेर, जन्मदिन वा सवारीको तस्बिर पोस्ट गर्ने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो।
नेतृत्व बहसको समय होइन
पार्टीभित्र नेतृत्वको विषयमा भइरहेको चर्चा पनि अहिलेको प्राथमिकता नभएको बताउँदै महासचिव पोखरेलले अधिवेशनको समयमा नेतृत्वबारे बहस गर्न सकिने र अहिले पार्टी एकता र बलियो संगठन निर्माणमा केन्द्रित हुनुपर्ने बताए।
बैठकमा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, उपसचिव भक्तकुमारी लामा लगायतका नेताहरूको उपस्थिति थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित