(असार १४ गते, स्वर्गीय मदन भण्डारीको जन्मजयन्ती मदन जन्मजयन्ती विशेष )
सार्थक ब्यूरो ।नेपाली राजनीतिक इतिहासमा विचार, संगठन र व्यवहारको अद्भुत समन्वय गर्न सफल नेता मदनकुमार भण्डारीको ७६ औं जन्मजयन्ती देशभर स्मरण गरिँदैछ। सुदूर ताप्लेजुङको विकट गाउँमा जन्मिएका मदन भण्डारी, जनताको घरदैलोबाट उठेर मुलुकको विचार–मार्गदर्शन गर्ने नेतृत्वमा पुगे।
वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघु गाविस–४ स्थित ठोट्ने भन्ने गाउँमा जन्मनुभएका मदन भण्डारीको न्वारनको नाम ‘मोतीराज’ थियो। उहाँ एक सामान्य कृषक परिवारमा जन्मनुभएको हो। बाल्यकालमा तमोर, मौवा र लालिगुराँसका जंगलहरूले उहाँको चेतनामा गाउँको जीवनशैली गहिरोसँग भिजाएको पाइन्छ।
बाल्यकालदेखि तेजिला, पढाइमा अब्बल र चिन्तनशील भण्डारीले संस्कृत पाठशालाबाट अध्ययन थालेका थिए। कक्षा ९–१० को अध्ययन नौ महिनामै सम्पन्न गरी काठमाडौंबाट एसएलसी दिएका थिए। उच्च शिक्षाका लागि भारत गएका उनले बनारस हिन्दू विश्वविद्यालयबाट शास्त्री र आचार्य गरे। सोही क्रममा भारतीय कम्युनिष्ट नेता ज्योति बसु, नेपाली नेता पुष्पलाल, मनमोहन अधिकारी र बीपी कोइरालासँगको सम्पर्कले उहाँलाई सिद्धान्तप्रति दृढ बनायो।
भारतबाट फर्किएपछि झापा आन्दोलनमा सहभागी हुँदै भूमिगत जीवन व्यतीत गर्नुभएका भण्डारी २०२८ सालमा पुष्पलालद्वारा स्थापित विद्यार्थी मोर्चामा प्रवेश गर्नुभयो। त्यसपछि २०३५ सालमा बनेको नेकपा (माले) मा उहाँको भूमिका अझ गहिरो भयो। भूमिगत संगठनको जिम्मेवारी सम्हाल्दै पञ्चायतविरोधी आन्दोलनलाई नेतृत्व दिनुभयो।
२०३९ सालमा भोजपुरकी विद्या पाण्डेसँग उहाँको विवाह भयो। विद्या भण्डारी पछि नेपालकै पहिलो महिला राष्ट्रपति बन्नुभयो। दम्पतीले संगठनको झण्डामुनि वैवाहिक जीवन सुरू गरेका थिए।
वि.सं. २०४९ मा नेकपा (एमाले) को पाँचौँ महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको विचार जनताको बहुदलीय जनवाद (जवज) नेपाली कम्युनिष्ट आन्दोलनको दिशा परिवर्तन गर्ने सिद्धान्त बन्यो। यो सिद्धान्तले बहुदलीय प्रतिस्पर्धा र लोकतन्त्रको अभ्यासमार्फत समाजवादमा पुग्ने बाटो देखायो।
तर उहाँको जीवन अल्पायुमै समाप्त भयो। २०५० साल जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा उहाँ र जीवराज आश्रितको निधन भयो। गम्भीर प्रश्न उठाइयो— यो दुर्घटना थियो कि हत्या ? यद्यपि त्यो प्रश्न अझै अनुत्तरित छ।
मदन भण्डारी आज पनि केवल एक नेता होइनन्— एक विचार, एउटा संस्था र एउटा अभियान हुन्। उहाँको सादगी, संघर्षशीलता, संगठन क्षमता र जनताप्रतिको अपार विश्वासले उहाँलाई ‘जननेता’ को उचाइमा पु¥याएको छ।


















Discussion about this post