सार्थक ब्यूरो ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १४ गते स्पेनको सेभिल्ला सहरतर्फ प्रस्थान गर्दैछ, जहाँ संयुक्त राष्ट्रसङ्घको आयोजनामा “विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन (FfD-4) आयोजना हुँदैछ। यो सम्मेलन केवल औपचारिक कूटनीतिक उपस्थिति होइन, अल्पविकसित, साना र टापु राष्ट्रहरूको तर्फबाट एक सशक्त आवाज प्रस्तुत गर्ने अवसर हो।
नेपाल अहिले स्वयं अल्पविकसित मुलुकहरूको अन्तरराष्ट्रिय समन्वयको अध्यक्ष राष्ट्र भएको अवस्थामा यस सम्मेलनमा नेपालको उपस्थिति, वकालत र दृष्टिकोण अन्तरराष्ट्रिय समुदायको लागि सन्देशमूलक बन्न सक्छ।
प्रधानमन्त्री ओलीले यस सम्मेलनमा विशेष सम्बोधन गर्नुहुनेछ, जसले राष्ट्रसंघीय दिगो विकास लक्ष्य (SDGs) सन् २०३० सम्म हासिल गर्न आवश्यक वित्त, लगानी, प्रविधि हस्तान्तरण, तथा अन्तरराष्ट्रिय सहकार्यका मुद्दाहरूलाई केन्द्रमा राख्नेछ।
नेपालले विकासका लागि आवश्यक वैदेशिक लगानी र सहयोग जुटाउन दीर्घकालीन रणनीति बनाउँदै आएको सन्दर्भमा यो सम्मेलन एक सुनौलो अवसर हो। नेपालसहितका गरिब मुलुकहरूका लागि धनी राष्ट्रहरूले गरेका प्रतिवद्धता अझै कार्यान्वयनको पाटोमा कमजोर छन्। अब ती वाचाहरूलाई कार्यान्वयनमा ल्याउन दबाब दिने समय आएको छ। नेपालजस्तो हिमाली, जलवायु प्रभावित र स्रोत-सिमित मुलुकले अन्तरराष्ट्रिय वित्तीय संरचनामा न्यायोचित पहुँच खोज्नु अन्याय होइन, आवश्यकताको आवाज हो।
यस्तो सम्मेलनहरूमा नेपालको भूमिका केवल प्रतिनिधित्वमा सिमित हुनुहुँदैन। नेपाली शिष्टमण्डलले तथ्यांक, नीति, र दूरदर्शिता सहित धनी राष्ट्रलाई प्रस्ट सन्देश दिनुपर्छ—हामी अनुदानको लागि होइन, साझेदारीको लागि आएका हौँ।
तर हामीले भित्री गृहकार्य पनि बलियो गर्नुपर्छ। बाहिरी सहकार्य सुदृढ पार्दै गर्दा भित्र प्रगति अवरुद्ध पार्ने भ्रष्टाचार, योजनाको असफल कार्यान्वयन, नीति स्थायित्वको अभाव र राजनीतिक अस्थिरता अन्त्य नगरी अन्तरराष्ट्रिय लगानीदाताले हामीमाथि पूर्ण विश्वास गर्न सक्दैनन्।
प्रधानमन्त्रीको भ्रमणबाट नेपाली जनता र विकास साझेदारहरू दुबैलाई एक स्पष्ट र परिणाममुखी नेपाली प्रतिवद्धता,साझा वित्तीय योजना र दिगो विकासको कार्ययोजना,स्पेनलगायत युरोपेली मुलुकसँग द्विपक्षीय सम्बन्ध सुदृढीकरण र विश्व समुदायसँग ‘Equal Footing’ मा सहकार्यको मार्ग।
अन्ततः, यस्ता भ्रमणहरूले नेपालको अन्तरराष्ट्रिय कूटनीतिक क्षमता मात्र होइन, विकासको आकांक्षा समेत परिभाषित गर्छन्। यस भ्रमणबाट सशक्त आवाज, दूरदर्शी प्रस्तुति र समावेशी कूटनीति देखियो भने नेपालको नाम अन्तरराष्ट्रिय मञ्चमा अझ प्रखर रूपमा गुञ्जन सक्छ।


















Discussion about this post