सार्थक ब्यूरो । कञ्चनपुर जिल्लामा लगातार वर्षा जारी रहेको छ। पछिल्लो ३ घण्टामा खल्लागोठ र शान्तिपुर (बेलौरी) वर्षामापन केन्द्रहरूमा मध्यम खालको वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान ४:३० बजे महाशाखाले सार्वजनिक गरेको सूचनामा स्थानीय साना खोलानाला, विशेषगरी सिहाली, दोदा (मछेली) लगायत क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आवश्यक छ।
देशभर हाल मनसुनी प्रणाली सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतिर सरेर पश्चिम नेपाल नजिक रहेकाले मौसम थप सक्रिय बनेको हो। यसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही ठाउँहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तटीय बस्तीहरू, कृषि क्षेत्र, तथा सवारीसाधन प्रयोगकर्ताहरूले सुरक्षाको पूर्व तयारी गर्न तथा आवश्यक परेको खण्डमा स्थानीय प्रशासनको निर्देशन पालना गर्न विशेष आग्रह गरिएको छ।


















Discussion about this post