सार्थक ब्यूरो । कैलालीको धनगढी उपमहानगरपालिका–४ का कुखुरा पालक किसान विवेक भट्ट ‘भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित भएका छन्। २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर आइतबार आयोजित विशेष कार्यक्रममा भट्टसहित तीनजना किसानलाई पुरस्कृत गरिएको हो।
पुरस्कृत हुने अन्य दुई कृषकमा लम्कीचुहा नगरपालिका–६ का मौरीपालक किसान किरण पाल भारती र धनगढी उपमहानगरपालिका–१ की बाख्रापालक कृषक देवकीकुमारी हमाल रहेका छन्। तीनै जनालाई दोसल्ला ओढाइ, प्रमाणपत्र, कदरपत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।
कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धि गर्न उल्लेखनीय योगदान पु(याएका यी किसानहरूलाई कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा सम्मान गरिएको हो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी प्रमुख अतिथि थिए। त्यस्तै, जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीका चौधरी, कृषि ज्ञान केन्द्रका प्रमुख टेकराज विष्ट, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलगायत स्थानीय किसानहरूको उपस्थिति थियो।
कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले कृषिमा परिश्रम गर्ने किसानहरूलाई सम्मान गर्नु संस्था र समाज दुवैको कर्तव्य भएको उल्लेख गर्दै कृषि आत्मनिर्भरता अभियानमा यस्तो सम्मानले थप हौसला दिने विश्वास व्यक्त गरे। सम्मानित किसानहरूले आफ्नो मेहनतलाई कदर गरिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा झनै प्रेरणा मिलेको बताएका छन्।
स्थानीय स्रोत र मेहनतबाट आत्मनिर्भर बनेका कृषकहरूको सम्मानले युवाहरूलाई कृषि व्यवसायमा आकर्षित गर्नेछ। यस्तो पहिचान अभियान प्रदेशभर व्यापक बनाउन जरुरी देखिन्छ।


















Discussion about this post