पाँच विद्यार्थी संगठनको माग: “स्ववियु चुनाव तोकिएको मितिमै हुनुपर्छ”

सार्थक ब्यूरो । सुदूरपश्चिम विश्वविद्यालयमा यही साउन १४ गते तोकिएको स्ववियु (स्ववियु) निर्वाचन तोकिएको मितिमै हुनुपर्ने माग राख्दै जिल्लाका पाँच प्रमुख विद्यार्थी संगठनहरूले विश्वविद्यालय पदाधिकारीहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।
अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल (समाजवादी), बहुमत निकट क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थी संगठनले संयुक्त रूपमा उपकुलपति डा। हेमराज पन्त र रजिष्ट्रार डा। विनोद लेखकसँग भेट गरी चुनाव अनिश्चिततामा पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पारेका हुन्।
मंगलबार उम्मेदवारी दर्ताकै दिन सत्ता पक्ष निकट नेवि संघ (नरेश पण्डित समूह) ले विवाद झिकेर निर्वाचन प्रकृयामा अवरोध गरेपछि बुधबार यी पाँच विद्यार्थी संगठनले नेतृत्वसँग पुनः चुनाव सम्पन्न गर्न जोडदार माग गरेका हुन्।
अखिल क्रान्तिकारीकी नेतृ मनिषा चन्दका अनुसार, “हामीले एक–दुई संगठनको तालाबन्दीबाट सम्पूर्ण विद्यार्थीको भविष्य अन्धकारमा पार्न नहुने स्पष्ट सन्देश दिएका छौं। उपकुलपति र रजिष्ट्रारले हाम्रो मागप्रति सकारात्मक धारणा व्यक्त गर्नुभयो, अब हेर्नु छ व्यवहारमा कति लागु हुन्छ।”
साथै, उनीहरूले अब पनि कुनै बहानामा चुनाव अवरुद्ध भए क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्।
उता, नेवि संघ (नरेश पण्डित समूह) ले आफ्ना जिल्ला अध्यक्ष पण्डितमाथि प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै कारबाही नभएसम्म तालाबन्दी यथावत राख्ने अडान लिएको छ। घाइते पण्डित हाल धनगढीस्थित अस्पतालमा उपचाररत छन्।
आफ्नै गृहमन्त्री रहेको सरकारले प्रहरीबाट आफ्ना कार्यकर्तामाथि बल प्रयोग गर्नु दुःखद भएको भन्दै नेवि संघ आक्रोशित देखिएको छ।
पाँच विद्यार्थी संगठनहरू भने, आफूहरूको जित सुनिश्चित भएको स्थितिमा चुनाव विफल पार्न केही समूहहरू सक्रिय भएको आरोप लगाउँदै आएका छन्। “चुनाव नचाहने गुटले अन्तिम समयमा उम्मेदवारी अवरुद्ध गर्न खोज्यो, अहिले क्रान्तिकारीहरूसँग झडपको भ्रम फैलाएर प्रचारबाजी गरिँदैछ,” संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
संयुक्त विज्ञप्तिमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दल ब। धामी, अनेरास्ववियु संयोजक प्रज्वल कुँवर, राप्रवि अध्यक्ष प्रेम रावल, अखिल समाजवादीका जिल्ला इन्चार्ज ललित सी, र बहुमत निकट क्रान्तिकारी संगठनका सुप विश्वविद्यालय इन्चार्ज प्रकाश भट्टको हस्ताक्षर रहेको छ।
निर्वाचन समिति संयोजक कर्णदेव भट्टले भने, मनोनयनको दिन वातावरण असहज भए पनि सबै पक्षसँग वार्ता गरेर निर्वाचन प्रकृया अघि बढाइने बताएका छन्।
सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको १६ वर्ष बितिसक्दा समेत अहिलेसम्म स्ववियु चुनाव हुन सकेको छैन। यसपटकको चुनावमा पनि अन्योल देखिन थालेपछि विद्यार्थी संगठनहरूको दबाब बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित