सार्थक ब्युरो। सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो अपि हिमालमा अब पर्यटक सहजै पुग्न सक्ने भएका छन्। संघीय सरकारले अपि हिमालसम्मको यात्रा सजिलो बनाउन दार्चुलाको अपि हिमाल गाउँपालिकामा नयाँ पर्यटकीय पदमार्ग निर्माण गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले सन् २०७९/८० देखि हालसम्म करिब २१ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरिसकेको छ। विभागका सिनियर डिभिजन इञ्जिनियर सचिन्द्रकुमार यादवका अनुसार पहिलो चरणमा खाइकोटदेखि बेस क्याम्पसम्मको १६ किलोमिटर पदमार्ग निर्माण गर्दा सिँढी, सोलिङ, पीसीसी ढलान र रेलिङ जडानसमेत गरिएको छ। यो कार्यमा पाँच करोड २८ लाख रुपैयाँ खर्च भएको थियो।त्यस्तै, २०८१/८२ आर्थिक वर्षमा गाउँपालिकाको धनबोरादेखि घुसा, खाइकोटदेखि थुम्ती र छेतीदेखि भिरफाटा जोड्ने गरी थप ५.५ किलोमिटर नयाँ पदमार्ग बनाइएको छ। सो वर्ष तीन करोड दुई लाख रुपैयाँ खर्च भएको पर्यटन विभागले जनाएको छ।यसअघि नै अपि गाउँपालिकामा ८,२८२ सिँढी भएको ‘सिद्ध मकरीकोट पदमार्ग’ बनाइएको थियो। पदमार्ग निर्माणसँगै अपि हिमालको यात्रामा सहजता बढेको छ, जसले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण पनि बढाइरहेको छ।
सात हजार १३२ मिटर अग्लो अपि हिमाल दार्चुलाको गौरव मात्रै होइन, सुदूरपश्चिमकै पहिचान पनि हो। अपि हिमाल गाउँपालिकाको पर्यटन इकाई प्रमुख बिसनसिंह बुढाथोकीका अनुसार गत आर्थिक वर्षमा १०३ जना विदेशी र २,७३३ जना स्वदेशी पर्यटकले अपि हिमाल क्षेत्र भ्रमण गरेका थिए।
पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले “अपि भ्रमण वर्ष २०८०” घोषणा गरी प्रचारप्रसार तीव्र बनाएको छ। होमस्टे प्रणालीलाई विस्तार गर्न ६१ जना महिला र ५ जना पुरुषलाई तालीम दिइएको छ। त्यस्तै, ट्रेकिङ गाइड उत्पादनका लागि आवश्यक तालीम पनि प्रदान गरिएको छ।
अपि–नाम्पा संरक्षण क्षेत्र जैविक विविधताले भरिएको छ। यहाँ हिउँचितुवा, हाब्रे (रेड पान्डा), मृग, घोरल, नाउर, रतुवा, कालो भालु, दुम्सीजस्ता वन्यजन्तु र दुई सयभन्दा बढी प्रजातिका चराहरू पाइन्छन्। यो क्षेत्र प्रकृति, साहस र शान्तिको संगम हो।अब पदमार्ग तयार भएपछि अपि हिमाल केवल हिमालको चुली मात्रै होइन, सुदूरपश्चिमको सम्भावनाको शिखर बन्ने पक्का देखिन्छ।








Discussion about this post