सार्थक ब्युरो।शुक्लाफाँटा नगरपालिकाको गौरवका रूपमा चिनिने चक्रपथको उत्तरतर्फ पर्ने वनसमिति–कसरौल सडक अहिले स्थानीयका लागि आशीर्वाद भन्दा बढी अभिशाप बनेको छ। सडकको दायाँ–बायाँ ठडिएका सुकेका साल र असनाका जीर्ण रुखहरूले हरेक यात्रुलाई भयभीत बनाइरहेका छन्।
यो केवल आशंका मात्र होइन,यो सडकमा पहिले नै मानवीय क्षति भइसकेको छ। केही वर्षअघि ६० वर्षीय फिरुवा रानाको मृत्यु सुकेको रुखको हाँगाले प्रहार गर्दा भएको थियो। विद्यार्थी बोकेको विद्यालय बसमाथि समेत रुख खसिसकेको छ। त्यसबेला मानवीय क्षति नभए पनि खतरा कति गम्भीर छ भन्ने यस्ता घटनाले स्पष्ट पार्छ। घर, गोठ र सम्पत्तिमा क्षति पुर्याउने यस्ता घटनाको सूची लामो छ,कसैको गोठ च्यातिन्छ, कसैको घरको कुनो भाँचिन्छ, कसैको चौपाया जोखिममा पर्छ।स्थानीय बासिन्दाले यो सडक हिँड्दा वा गाडी चलाउँदा हावाहुरी, चट्याङ वा वर्षात्को बेला ज्यान हत्केलामा राखेर हिँड्नु पर्ने बाध्यता सुनाउँछन्। वडाका पूर्वअध्यक्ष जगता रानाका अनुसार, यस्ता रुखहरू तत्काल काटेर हटाउन आवश्यक छ, तर समस्या समाधानको गति सुस्त छ।यो सडक वडा नं ६, ७ र ८ का बासिन्दाको मुख्य यातायात मार्ग हो,वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानी कार्यालय जाने यही बाटो हो। डेढ किलोमिटर लामो यो सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयसँग रु ३ करोडमा ठेक्का सम्झौता भइसकेको भए पनि सुकेका रुख व्यवस्थापनको अनुमति नआउँदा काम अघि बढ्न सकेको छैन।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले रुख काट्न मन्त्रालयको अनुमति चाहिन्छ। नगरपालिकाले पत्राचार गरे पनि अझै आदेश आएको छैन। निकुञ्जको प्रतिवेदनअनुसार सडक छेउका १०५ रुख तत्काल हटाउनुपर्ने देखिएको छ, तर कार्यान्वयन कहिले हुन्छ भन्ने अनिश्चित छ।स्थानीयहरूको माग स्पष्ट छ—पहिलो प्राथमिकता असुरक्षित रुख हटाउने, त्यसपछि सडक चौडा र कालोपत्र गर्ने। किनभने, विकासका नाममा बनाइने सडकले ज्यान नै जोखिममा पार्ने अवस्था कहिलेसम्म सहनुपर्ने ?








Discussion about this post