सार्थक ब्युरो।बैतडीको दशरथचन्द नगरपालिकाले सदरमुकामलाई उज्यालो बनाउन ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सुरु गरेको छ। नगरपालिकाका अनुसार गोठलापानी, गढी र शाहीलेक बजार क्षेत्रमा ७२ वटा बल्ब जडान गरी कार्यक्रमको शुभारम्भ गरिएको हो।
यो कार्यक्रम नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। नगर प्रमुख पुष्करराज जोशीले विद्युत प्राधिकरणमा राखिएको ‘स्विच अन’ गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो।
नगरपालिकाले सार्वजनिक स्थल र मन्दिरमा बत्ती बाल्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो। गत आर्थिक वर्ष २०८१/८२ मा यो कार्यक्रमका लागि करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। चालु आर्थिक वर्षमा पनि करिब १० लाख रुपैयाँ छुट्याइएको छ।
नगरपालिकाले आगामी दिनमा देहीमाण्डौँ, मुस्याचौर, झुलाघाट लगायतका बजार क्षेत्रमा पनि बत्ती बाल्ने योजना बनाएको छ। विद्युत लाइन पुगेका स्थानमा प्राधिकरणको लाइनबाट र नपुगेका ठाउँमा सौर्य बत्ती जडान गर्ने योजना रहेको नगर प्रमुख जोशीले जानकारी दिनुभयो।
‘उज्यालो दशरथचन्द’ अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता मात्र होइन, स्थानीय बासिन्दाको सुरक्षामा समेत सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।








Discussion about this post