राज्यले आफ्नो भूमि बचाउन सक्नैपर्छ

हरि प्रसाद जोशी

दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरा केवल भौगोलिक नाम मात्र होइनन्; यी नेपालको सार्वभौमसत्ता र पहिचानसँग प्रत्यक्ष सम्बन्धित भूभाग हुन्। तर, विडम्बना के छ भने यिनै भूमिमा भारत र चीनले आपसी व्यापार सम्झौता गरेर नेपालको भूमिस्वामित्वलाई बेवास्ता गरेका छन्। यो केवल कूटनीतिक असफलता मात्र होइन, राज्यको निष्क्रियताले जन्माएको गम्भीर राष्ट्रिय समस्या हो।

स्थानीय बासिन्दाको पीडा अझ मार्मिक छ। आफ्नै गाउँ छाङरु, तिङ्कर पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता, त्यसक्रममा भारतीय सुरक्षा निकायबाट हुने दुर्व्यवहार, र नेपाल सरकारले उनीहरूको अवस्था बुझ्नसम्म नसक्नु—यी सबैले नागरिकमा राज्यप्रतिको भरोसा गुमाउँदै लगेको छ। अझ त्यसमाथि, नाबी, कुटी र गुन्जीका नागरिकहरूले नेपालमै मालपोत तिरेको ऐतिहासिक प्रमाण रहँदा रहँदै भारतले ती भूमि कब्जा गर्नु र नेपाल चुपचाप बस्नु अस्वीकार्य छ।

नेपाल सरकारले २०७७ जेठ ७ गते प्रकाशित नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटे पनि त्यो केवल प्रतीकात्मक कदममा सीमित रह्यो। व्यवहारमा त्यसलाई जीवन्त बनाउन, सीमा क्षेत्रमा नेपाली उपस्थिति मजबुत पार्न र छिमेकी मुलुकसँग दृढ कूटनीतिक वार्ता गर्न सरकार असफल देखिएको छ। फलस्वरूप, नागरिकमा निराशा र आक्रोश दुवै बढेको छ।

भारत–चीनबीच नेपालको भूमिबाट व्यापारिक बाटो खोल्ने सहमति केवल अन्तर्राष्ट्रिय नियम विपरीतको कदम मात्र होइन, नेपालको सार्वभौमसत्तामाथिको ठाडो चुनौती हो। यस्तो अवस्थामा नेपाल सरकारले केवल प्रेस विज्ञप्ति वा औपचारिक वक्तव्यमा सीमित नबसी ठोस कूटनीतिक पहल गर्नुपर्ने अपरिहार्यता छ। यसमा सबै राजनीतिक दलको साझा धारणा र राष्ट्रिय एकता अपरिहार्य छ।

नेपालले आफ्नो भूमि बचाउन सक्दैन भने, सार्वभौम राष्ट्रको अस्तित्व नै के अर्थमा रहने ? सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकलाई संरक्षण दिनु, उनीहरूको हक अधिकार सुनिश्चित गर्नु र नेपालको ऐतिहासिक दस्तावेजलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा प्रस्तुत गर्नु आजको मुख्य जिम्मेवारी हो।

अब ढिलाइ गर्ने समय छैन। राज्यले दृढ कदम चाल्न सकेन भने भविष्यमा लिपुलेक मात्र होइन, अन्य सीमाक्षेत्र पनि निरन्तर विवाद र कब्जाको शिकार बन्नेछन्। त्यसैले,अब नेपाली भूमि जोगाउन राष्ट्रको सम्पूर्ण क्षमता, स्रोत र कूटनीतिक शक्तिलाई प्रयोग गर्नु  अनिवार्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित