सार्थक ब्युरो। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो ।विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् ।प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए भने निर्णायकहरूमा प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ, साहित्यकार पार्वती भट्ट थिए ।प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाइएका थिए भने वर्तमान अवस्थामा नर्सहरूको कथाव्यथा पीडालगायतका गीतका शब्दहरूले उपस्थितहरू सबैको मन छोएको थियो ।उनीहरूका गीतहरूमा नर्सिङ पेशा नभई सामाजिक सेवा भएको कारण नर्सहरूको कार्यलाई सम्मानपूर्वक हेरिनुपर्ने र उनीहरूको लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्ने कुराहरूलाई व्यक्त गरिएको थियो । साथै तीजको दर खाँदा खानेकुराहरूमा ध्यान दिई आफ्नो स्वास्थ्यलाई ध्यान दिऔँ भन्ने सन्देशसहितका भावहरू गीतमा प्रस्तुत गरिएको थियो ।प्रमुख अतिथिको मन्तव्यमा कृष्ण कँडेलले प्रस्तुत गीतहरू साँच्चै नै मार्मिक भएको र वर्तमान अवस्थामा पार्टी प्यालेसहरूमा ह्वीस्की बियरका साथमा डिस्को गीत तथा तीज गीतको नाममा छाडा प्रवृत्तिको गीतमा रमाउँदै तीज मनाउने महिलाहरूलाई समेत सन्देश दिएको बताएका थिए ।तीज गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतहरुले आफूलाई ३० वर्षअघि फर्काएको अनुभव व्यक्त गरेका थिए भने प्रस्तुत प्रतियोगीहरूलाई इन्द्रेणी कार्यक्रममा सहभागी गराएर गीतका व्यथाहरू र सन्देशलाई सम्बन्धित निकायसम्म पुर्याउने कुरा व्यक्त गरेका थिए ।
प्रतियोगी सात समूहको गीतहरूको मूल्याङ्कनकर्ताहरूको मूल्याङ्कनका आधारमा पार्वती भट्टले प्रथम द्वितीय तृतीय हुने समूहको घोषणा गरेकी थिइन् । सातौँ समूह प्रथम भए पनि सबै समूहका गीतहरू उत्कृष्ट भएको र थोरै नम्बरमा फरक रहेको कुरा बताएकी थिइन् ।
प्रथम द्वितीय तृतीय हुने समूहलाई पुरस्कार र अन्य समूहका विद्यार्थीहरूलाई सान्त्वना पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कृष्ण कँडेल, विशेष अतिथि रमेश दाहाल र कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख मुना राना थापाले पुरस्कार वितरण गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि कृष्ण कँडेल र निर्मला भण्डारीबीचको “राइझुमा” बोलको गीतको दोहोरीले कार्यक्रमलाई रोचक र मनोरञ्जक तुल्याएको थियो ।क्याम्पसकी शिक्षिका सीता वलीद्वारा रोचक तरिकाले सञ्चालन गरिएको कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले समीक्षा मन्तव्य व्यक्त गरिएको थियोभने क्याम्पसकी सह प्राध्यापक कृष्णादेवी श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् ।कार्यक्रममा प्रमुख अतिथिलाई कदरपत्रसहित र मूल्याङ्कनकर्ताहरू तथा विशेष अतिथि एवं अतिथिहरूलाई मायाको चिनो वितरणसहित सभापतिको मन्तव्यमार्फत कार्यक्रम समापन गरिएको थियो ।


















Discussion about this post