सार्थक डेस्क।कञ्चनपुरको भीमदत्त नगरपालिका–८ चुरेफेदस्थित भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति वर्षौंदेखि अलपत्र छ। आठ वर्षअघि जगतगुरु मोहनशरण देवाचार्यले राष्ट्रलाई एकताको सन्देश दिने उद्देश्यले ७५ वटै जिल्ला चिनाउने गरी यो मूर्ति निर्माण अभियान सुरु गर्नुभएको थियो। जनताको दानमार्फत संकलित धातु र नगद प्रयोग गरेर काम सुरु भए पनि पर्याप्त बजेट नहुँदा मूर्ति आजसम्म अधुरो छ।
जगतगुरु देवाचार्यले प्रदेश सरकारका मुख्यमन्त्रीदेखि शीर्ष नेतासम्मलाई बजेट विनियोजनको लागि पटक–पटक आग्रह गर्नुभयो। तर, करिब तीन करोड रुपियाँ विनियोजन गर्न सरकार उदासीन रहँदा १० करोड ८१ लाखमा भ्याली कन्स्ट्रक्सनलाई दिइएको ठेक्का कार्य समेत अपुरो छ। धार्मिक महत्वका साथसाथै पर्यटन सम्भावनायुक्त परियोजना यत्तिकै थाती छोडिनु राष्ट्रकै दुर्भाग्य हो।धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भम्केनी धाम पाण्डव वनवासको कथासँग जोडिएको छ। सिद्ध बैजनाथको भूमि मानिने यो ठाउँमा नेपाल आमाको मूर्ति पूर्ण भए सुदूरपश्चिम प्रदेश मात्र नभई सम्पूर्ण राष्ट्रकै आकर्षण बन्न सक्ने क्षमता छ। मूर्ति निर्माण सुरु भएपछि स्थानीय चहलपहल बढेको र बाहिरबाट समेत धार्मिक पर्यटक आउन थालेका तथ्यहरूले यसको महत्वलाई स्पष्ट देखाउँछन्।
जब जनताको दान, आस्था र श्रमले मूर्ति निर्माण सुरु भएको हो, तब राज्य किन मौन छ? किन यस्ता दीर्घकालीन र सांस्कृतिक परियोजनामा सरकारको प्राथमिकता हुँदैन? अरबौं खर्च हुने तामझाम, सम्मेलन र सतही देखावटी कामका बीच, राष्ट्रिय गौरव र एकताको प्रतीक बन्ने परियोजना किन बेवास्ता हुन्छ ? नेपाल आमाको मूर्ति केवल एक मूर्तिकलाको नमुना मात्र होइन, यो एकताको प्रतीक हो, पहिचानको भाव हो। मुलुककै कुनाकाप्चाका नागरिकलाई एउटै आस्थाको सूत्रमा बाँध्ने एउटा ऐतिहासिक प्रयास हो। यस्तो परियोजना पूरा हुन नसक्नु हाम्रो नीति–नियामक तहको दूरदर्शिता अभाव र राजनीतिक इच्छाशक्तिको कमजोरीलाई उजागर गर्छ।
राज्यले धार्मिक आस्था, सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना जोडिएका कामलाई बेवास्ता गर्ने प्रवृत्ति त्याग्नैपर्छ। सुदूरपश्चिम जस्तो भौगोलिक, सामाजिक र आर्थिक हिसाबले पछाडि परेका क्षेत्रमा यस्ता परियोजनाले समग्र विकासमा टेवा पुर्याउन सक्छन्। अब राज्यले गम्भीरतापूर्वक बजेट विनियोजन गरी नेपाल आमाको मूर्ति निर्माण पूरा गर्नेतर्फ ध्यान दिनुपर्छ। यो राष्ट्रकै गौरवसँग जोडिएको परियोजना हो, जसलाई अधुरो राख्नु इतिहासप्रतिको बेइमानी हुनेछ।








Discussion about this post