एमाले विधान महाधिवेशनः भित्र ओलीको मन्तव्य, बाहिर भण्डारीको पत्र

-हरि प्रसाद जोशी
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले) को विधान महाधिवेशन सुरु भएको छ। उद्घाटन मन्तव्यमा अध्यक्ष केपी शर्मा ओलीले विद्यादेवी भण्डारीको सदस्यता विवादलाई महाधिवेशनमा एजेन्डा नबन्ने अडान लिँदै घुमाउरो सन्देश दिए। तर बाहिर भने भण्डारी पक्षका कार्यकर्ताले भण्डारीले विधान महाधिवेशन प्रतिनिधि का नाममा हिजो १९ गते प्रेसित गरेको उनको पत्र प्रतिनिधिहरूमाझ बाँडेर विवादलाई सतहमा ल्याएका छन् ।
पत्रमार्फत भण्डारीले आफ्नै सदस्यता रोकिएको कदमलाई “गहिरो आस्था र विश्वासमाथिको कुठाराघात” भन्दै यो विषय व्यक्तिगत नभई पार्टीको भविष्यसँग जोडिएको संवैधानिक तथा राजनीतिक प्रश्न भएको दाबी गरेकी छन्। उनले संघर्ष र समर्पणको लामो यात्रापछि पार्टीमै निरन्तर योगदान गर्न चाहने अठोट दोहोर्‍याएकी छन्।
भण्डारीको पत्रले सचिवालय बैठकमै असहमति जनाएका इश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरूलाई थप बल मिलेको छ। यसरी नेताहरू दुई धारमा खुलेर उभिँदा पार्टीभित्र असन्तोष औपचारिक महाधिवेशनमै छ्यापछ्याप्ती देखिएको छ। ओलीको कठोर अडान र भण्डारी पक्षको सक्रिय अभियानले एमालेभित्र गहिरो गुटगत विभाजन झनै प्रस्ट हुँदै गएको देखिन्छ।
यदि पार्टिले यस विवादलाई सहज ढंगबाट लिएर विवाद समाधान नगरी लामो समयसम्मै तानियो भने पार्टीभित्र वैचारिक एकता र संगठनात्मक स्थायित्व कमजोर हुने देखिन्छ। भण्डारीलाई रोक्ने निर्णय नेतृत्वको एकपक्षीय निर्णयजस्तो देखिएको भन्दै असन्तुष्ट पक्ष बलियो हुँदै गएमा महाधिवेशनपछिको नेतृत्व चयन र नीति निर्धारण प्रक्रियामा प्रत्यक्ष असर पर्न सक्छ। अर्कोतर्फ, भण्डारीलाई सहमतिको आधारमा फर्काउने हो भने पार्टीको सामूहिक छवि बलियो बन्ने तर ओलीको व्यक्तिगत नियन्त्रण घट्ने सम्भावनाका कारण ओली पक्ष पछि नहट्ने हो भने मिसन ८४ लाई समेत असर गर्ने स्पष्ट देखिन्छ ।विधान महाधिवेशन एमालेको नीति–विधान संशोधनभन्दा बढी आन्तरिक सत्ता–सन्तुलनको परीक्षा बनिरहेको छ, जसको निर्णायक सूत्र भण्डारीको सदस्यता विवादमै अड्किएको छ। यसलाई विवादको विषय नबनाई भण्डारीलाइ पाटिै कामको जिम्मेवारी तोक्नु उपयुक्त हुनेछ ,।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित