सार्थक ब्यूरो ।कञ्चनपुर निर्माण व्यवसायी संघको १५औं अधिवेशनबाट अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन्। उनले निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टलाई १७ मतको न्यून अन्तरले पराजित गर्दै हारको बदला चुकाएका छन्। १४औं अधिवेशनमा भट्टले अवस्थीलाई ४६ मतले हराएका थिए।यस अधिवेशनले संघभित्रको नेतृत्व प्रतिस्पर्धा निरन्तरता मात्र होइन, सन्तुलन पनि देखाएको छ। अध्यक्षमा अवस्थी विजयी भए पनि वरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन्। सह–कोषाध्यक्ष हेम बहादुर महरा पनि भट्ट प्यानलकै हुन्। यसले संघभित्र एकैपक्षीय वर्चस्व नभई साझा नेतृत्व उदाएको सन्देश दिएको छ।
त्यस्तै, अवस्थी प्यानलबाट उपाध्यक्षमा यज्ञराज बैज र महासचिवमा देबीदत्त भट्ट विजयी भए। यसरी पदाधिकारीतर्फ दुवै प्यानलका प्रतिनिधि निर्वाचित हुनु संघको आन्तरिक सन्तुलनका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।
चुनाव परिणामले विगतका हार–जीतलाई उल्टाइदिएको छ। उदाहरणका लागि, अध्यक्ष अवस्थीले भट्टलाई यसपटक पराजित गरे भने, कोषाध्यक्ष तेज बहादुर चन्दले पनि यसअघि १४औं अधिवेशनमा हारको स्वाद चाखेका थिए। यसपटक उनी निर्विरोध विजयी भए। यस्ता उल्टापल्ट संघभित्र निरन्तर प्रतिस्पर्धा भए पनि नेतृत्व घुमफिर गर्ने परम्परा जस्तै स्थापित भइरहेको संकेत हो। २९४ सदस्यमध्ये २८१ जनाले मतदान गरेका छन्, जुन उच्च सहभागिता हो। यसले सदस्यहरू संघको भविष्यप्रति गम्भीर र चासोयुक्त रहेको देखाउँछ। सदस्यहरूको सक्रिय सहभागिताले संघलाई आगामी दिनमा संस्थागत विकासमा लाग्ने अपेक्षा बढाएको छ।
निर्माण व्यवसायी संघ केवल पदाधिकारीको प्रतिस्पर्धा गर्ने मञ्च मात्र होइन, स्थानीय निर्माण व्यवसायको नियमन, व्यवसायीबीच समन्वय, र सरकारसँग सहकार्य गर्ने संस्थागत प्लेटफर्म पनि हो। नयाँ नेतृत्वले भित्रको गुटगत द्वन्द्वलाई व्यवस्थापन गर्दै व्यवसायीहरूको हित र पेशागत मर्यादा जोगाउनेतर्फ ध्यान दिनुपर्ने चुनौती छ। पुष्पराज अवस्थीको अध्यक्षतामा आएको नयाँ कार्यसमिति पुराना प्रतिस्पर्धीबीचको सन्तुलनसहित उदाएको छ। यसले संघलाई एकपक्षीय होइन, साझा नेतृत्वतर्फ धकेलेको छ। तर, आगामी दिनमा गुटगत टकरावलाई संस्थागत एकतामा रूपान्तरण गर्न सक्ने वा नसक्ने भन्ने कुराले अवस्थी नेतृत्वको मूल्याङ्कन हुने छ।


















Discussion about this post