सार्थक ब्यूरो । देशभर व्यापक धनजनको क्षति पुर्याउँदै उकासिएको ‘जेन हेड’ आन्दोलनबारे अब बहस आन्दोलनका माग र कारणभन्दा बढी यसको उठान, सूत्रधार र सम्भावित बाह्य हस्तक्षेपको दिशामा केन्द्रित हुन थालेको छ।
आन्दोलन कसरी सुरु भयो भन्नेबारे ठोस तथ्य अझै सार्वजनिक भइसकेको छैन। तर विभिन्न राजनीतिक वृत्त र विश्लेषकहरूबीच यसका सूत्रधार को हुन् भन्ने विषयमा तीव्र बहस चलिरहेको छ। केही समूहहरूले यस आन्दोलनलाई देशभित्रैका युवाहरूको स्वतःस्फूर्त विद्रोह बताइरहेका छन् भने अर्कातिर केही राजनीतिक दलका नेताहरूले यसमा भारत, अमेरिका र युरोपियन युनियनको हात रहेको दाबी गरेका छन्।
यता, केही विश्लेषकहरूले नेपाललाई चिनविरोधी गतिविधिको मार्ग बनाउने योजनाअन्तर्गत ‘जेन हेड’ आन्दोलनलाई प्रयोग गरिएको आरोपसमेत लगाएका छन्। उनीहरूका अनुसार नेपाललाई भूराजनीतिक प्रतिस्पर्धाको मैदान बनाउने प्रयास अन्तर्गत आन्दोलनलाई संगठित र चर्काउन विदेशी शक्ति सक्रिय भए भन्ने आशंका गहिरिँदै गएको छ।
सबैभन्दा विवादास्पद आरोप भने भदौ २३ गते स्कुले बालबालिकालाई मार्न बाह्य शक्ति प्रयोग गरिएको र त्यसकै आडमा २४ गते थप धनजनको विनाश गराइयो भन्ने हो। इतिहासमै कुनै आन्दोलनमा नभएको जस्तो वृहत्तम धनजनको क्षति यस आन्दोलनमा भएको सरकारी अधिकारीहरूले समेत उल्लेख गरेका छन्।
यसबीच नयाँ सरकार गठन भइसकेको भए पनि, जनतामा भने नयाँ सरकारबाट पनि ठोस आशा गर्न सकिने आधार देखिँदैन भन्ने निराशा बढ्दै गएको छ। राजनीतिक स्थायित्व, शान्ति र पुनर्निर्माणका गहन चुनौतीबीच अब सरकार र राजनीतिक दलहरूलाई जनताको विश्वास पुनः जित्न असाधारण क्षमताको परीक्षा दिनुपर्ने देखिएको छ।








Discussion about this post