सुदूरपश्चिमका थारू बस्तीहरूमा सखिया नाचको रौनक

सार्थक ब्यूरो ।दसैँ नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशका थारू बस्तीहरूमा मौलिक संस्कृति झल्काउने सखिया नाच सुरु भएको छ। स्थानीय समुदायले चाडपर्वको तयारीसँगै परम्परागत नृत्य अभ्यास थाल्न थालेपछि गाउँ–गाउँमा उत्सवको रौनक थपिएको छ।

भिमदत्त नगरपालिका २ का स्थानीय प्रेम बहादुर चौधरीका अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि महिलाहरूले साँझपख भेला भई सखिया नाच प्रस्तुत गर्न थालेका छन्। दसैँ र तिहारजस्ता चाडपर्वका अवसरमा सखिया नाच प्रदर्शन गर्ने परम्परा रहेको थारू समुदायमा नाचको अभ्यास यसैबेला सुरु हुने चलन छ।

सखिया नाचमा युवती तथा महिलाहरूले परम्परागत पोसाक लगाई मादल र मिजुराको तालमा सामूहिक रूपमा नाच्ने गर्छन्। मादल बजाउने ‘मदरिया’को निर्देशनअनुसार ताल मिलाउँदै विविध शैलीका मुद्राहरू प्रस्तुत गरिन्छन्।

‘सखिया’ भन्ने शब्दको मूल ‘सखी’ अर्थात् महिला साथीहरू भन्ने अर्थबाट आएको मानिन्छ। महिला साथीहरू मिलेर नाचिने भएकाले यस नाचलाई ‘सखिया’ भनिएको हो। सखिया नाच थारू समुदायको मौलिक लोकनृत्य हो, जसले सामूहिकता र मित्रताको सन्देश दिन्छ।

पहिला मुख्यतः चाडपर्वमा मात्र देखाइने यो नृत्य अहिले विभिन्न मेला, सांस्कृतिक कार्यक्रम र महोत्सवहरूमा समेत प्रस्तुत गरिन थालेको छ। यसले थारू समुदायको सांस्कृतिक पहिचानलाई अझ व्यापक बनाएको स्थानीयहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित