सार्थक ब्यूरो ।जेन–जी पुस्ताको आन्दोलनपछि सबैभन्दा बढी क्षति बेहोरेको सुदूरपश्चिम प्रदेशमा सार्वजनिक सेवा क्रमशः पुनःसञ्चालनमा फर्कन थालेका छन्। संघीय राजधानीपछि सबैभन्दा ठूलो भौतिक नोक्सानी भोगेको प्रदेशमा हाल सरकारी कार्यालयहरूले अस्थायी व्यवस्था गरेर सेवा सुरु गरेका छन्।
कैलाली जिल्ला अदालतले सोमबारदेखि बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाइ प्रारम्भ गरिसकेको छ। अदालतका श्रेस्तेदार चेतराज पन्तका अनुसार थुनुवा सम्बन्धी पक्राउ पुर्जी जारी गर्ने कार्य पनि सुरु भएको छ। “अन्य मुद्दा स्थगित गरिएका छन्, तर म्याद नगुजिने व्यवस्था मिलाइनेछ,” उनले स्पष्ट पारे।
यस्तै, सेवा भीड बढी हुने मालपोत र नापी कार्यालयहरू पनि बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। क्षतिग्रस्त भवनहरूको सरसफाइ, रंगरोगन तथा आवश्यक मर्मतकार्य भइरहेको नापी कार्यालयका प्रमुख जनकराज भट्टले जानकारी दिए। “नक्सा प्रिन्ट र फिल्डबुक उतारजस्ता काम सुरू गर्ने तयारी छ, डाटाहरू भने सुरक्षित छन्,” उनले भने।मालपोत कार्यालयका अधिकृत प्रेमबहादुर दौल्यालका अनुसार कम्प्युटर उपकरण नहुँदा असुविधा भए पनि सबै डाटा अनलाइन प्रणालीमा सुरक्षित रहेकाले छिट्टै सेवा सञ्चालन हुने जनाइएको छ।
व्यापक क्षति, सेवा विस्तारको चुनौती
आन्दोलनका क्रममा प्रदेशका २३३ सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएका थिए भने करिब ६ सय ५० सवारी साधनमा आगजनी भएको प्रदेश सरकारको प्रारम्भिक तथ्यांकले देखाउँछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश सभा भवन र सातै मन्त्रालयमध्ये धेरैमा आगजनी भएको थियो।
सभामुख भीमबहादुर भण्डारीका अनुसार प्रदेश सभामा सबैभन्दा बढी क्षति पुगेको छ। “सभाहलदेखि दलका कार्यालय र संसदीय समितिसम्म जलेका छन्, हाल बैठक बस्ने कुनै निश्चित टुङ्गो छैन,” उनले भने।
यद्यपि सामाजिक विकास, भूमिसुधार तथा कृषि, र आन्तरिक मामिला मन्त्रालयहरूले भने सेवा सञ्चालन सुरु गरिसकेका छन्। सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सवारीसाधनमा क्षति र केही उपकरण चोरी भए पनि नियमित कार्य सुचारु भइसकेको बताए।जिल्लास्तरमा भने प्रशासन, मालपोत, नापी, राजस्व, यातायात, बन लगायतका भीड हुने कार्यालयहरू क्षतिग्रस्त छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार राष्ट्रिय परिचयपत्र र राहदानी प्रणालीमा ठूलो क्षति पुगेकाले ती सेवा सुरु हुन समय लाग्नेछ। “२ लाख जनाका तयारी अवस्थामा रहेका परिचयपत्र जलेका छन्,” उनले जानकारी दिए। अन्य सेवा भने इलाका प्रशासन कार्यालयहरूमार्फत पनि दिइन थालिएको छ।
जेन–जी युवाहरूको सहयोग र मुख्यमन्त्रीको निरीक्षण
क्षतिग्रस्त कार्यालयहरूमा हाल जेन–जी उमेर समूहका युवाहरूले सरसफाइ अभियान चलाइरहेका छन्। धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सयौँ युवाहरू सहभागी भएर सरसफाइ गरिरहेका छन्।आन्दोलन सातौँ दिन पार गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले पनि जलेका सरकारी संरचनाको निरीक्षण गरेका छन्। उनले विभिन्न मन्त्रालय, प्रदेश सभा भवन र संघीय सरकार मातहतका कार्यालयहरू अवलोकन गरेका छन्। साथै उनले नेपाली कांग्रेस नेतृ आरजु देउवाको धनगढीस्थित जलेको निवास पनि हेरेका छन्, यद्यपि अन्य नेताहरूका क्षतिग्रस्त घरहरू नहेरेको आरोप समेत लागेको छ।








Discussion about this post