सार्थक ब्यूरो ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको फोनवार्तालाई सतही रूपमा हेर्दा यो सामान्य सौजन्यपूर्ण संवाद मात्र जस्तो देखिन्छ। तर, राजनीतिक विश्लेषणको दृष्टिले हेर्दा यस प्रकारका संवादहरू महत्त्वपूर्ण कूटनीतिक संकेत बोकेको हुन्छन्, विशेषतः जब नेपालजस्तो मुलुकमा नयाँ सरकार गठन भइसकेको छ र छिमेकी मुलुकहरू यसको राजनीतिक दिशाप्रति चासोपूर्वक नजर राखिरहेका छन्।
प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीलाई ७५औँ जन्मदिनको शुभकामना दिँदै फोनवार्ता आरम्भ गर्नु, सामान्य राजनैतिक प्रोटोकलअनुसार भए पनि यसले दुई देशबीचको मैत्री र सद्भाव कायम राख्ने कार्कीको प्राथमिकता स्पष्ट देखाउँछ। नेपालको पछिल्ला राजनीतिक घटनाक्रम (जेन जेड आन्दोलनपश्चात नयाँ सरकारको आगमन) लाई भारतले कसरी हेर्छ भन्ने प्रश्नमा उत्पन्न हुनसक्ने अस्पष्टतालाई कम गर्ने प्रयास पनि यसमै निहित देखिन्छ।
त्यसैगरी, प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्ध स्मरण गर्नु र राजनीतिक घटनाक्रमबारे जानकारी गराउनु भनेको, नयाँ सरकार पुरानो सम्बन्धलाई निरन्तरता दिने र भारतप्रति शंकाको वातावरण सिर्जना नगर्ने सन्देश हो।
भारतीय प्रधानमन्त्री मोदीले कार्कीलाई बधाई दिँदै असल छिमेकीका नाताले निरन्तर सहयोग गर्ने आश्वासन दिनु पनि कूटनीतिक हिसाबले महत्त्वपूर्ण छ। भारत नेपालमा स्थायित्व, लोकतान्त्रिक अभ्यास र चीनसँगको सन्तुलनमा चासो राख्दै आएको छ। कार्की नेतृत्वको सरकारसँग सुरुवातीमै सकारात्मक सम्बन्ध राख्ने भारतको संकेत यसै फोनवार्तामा प्रस्ट देखिन्छ।
यस प्रकारको उच्चस्तरीय संवादले नेपालमा भारतीय लगानी, व्यापारिक पहुँच, भौगोलिक सुरक्षासम्बन्धी सरोकार र कूटनीतिक उपस्थितिको निरन्तरताको आश्वासन दिने प्रयोजन पनि पुरा गर्दछ।
फोनवार्तामा द्विपक्षीय हित र साझा चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ, तर यसबारे विस्तृत एजेन्डा सार्वजनिक भएको छैन। यद्यपि, विगतका अनुभवहरू हेर्दा सीमासम्बन्धी विवाद, व्यापार असन्तुलन, ऊर्जा सहकार्य, जलस्रोतको उपयोग र जनसरोकारका विषयहरू यी ‘साझा चासो’ का एजेन्डाहरू हुने सम्भावना प्रबल देखिन्छ।
यी क्षेत्रहरूमा ठोस प्रगति नगरी केवल सद्भावका शब्दहरूमा सीमित सम्बन्धले दीर्घकालीन परिणाम ल्याउन सक्दैन। त्यसैले, फोनवार्ता नयाँ सम्बन्धको सुरुवात मात्र होस वास्तविक परीक्षण भने आगामी वार्ताहरूमा हुने व्यवहारिक सहकार्य हुनेछ।
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीचको फोनवार्ताले नेपाल–भारत सम्बन्धमा तत्कालिक राजनीतिक अस्थिरताले कुनै नकारात्मक असर नपार्ने संकेत दिएको छ। यो संवाद सौजन्यको आवरणभित्र कूटनीतिक सन्तुलन कायम गर्ने सुरुवाती कूटनीतिक चाल हो, जसले भविष्यको द्विपक्षीय सहकार्यको आधार निर्माण गर्न सक्छ।
तर दीर्घकालीन विश्वास र समानताको सम्बन्ध निर्माण गर्न नेपाल सरकारले भारतसँगको सम्बन्धलाई भावनात्मक नजिकताभन्दा व्यावहारिक सहकार्य र पारस्परिक सम्मानमा आधारित बनाउनुपर्नेछ यही भविष्यको कूटनीतिक सफलता र स्वाधीनताको मूल आधार हुनेछ।


















Discussion about this post