राजनीतिक दलको पुनर्संरचना : जनताको विश्वास फर्काउने एकमात्र बाटो

सार्थक डेस्क।नेपालको राजनीति आज गहिरो संकटमा छ। दलहरू, जसले लोकतन्त्रको मेरुदण्ड बन्नुपर्ने थियो, क्रमशः जनताको विश्वास गुमाउँदै छन्। यसको प्रमुख कारण दलभित्र विकसित भएको आदेशमूलक प्रवृत्ति हो—जहाँ नेताको आदेशलाई प्रश्नबिनै पालन गर्नुपर्ने बाध्यता जस्तो वातावरण सिर्जना गरिएको छ।
अन्तरक्रियात्मक छलफल, आलोचना र विमर्शजस्ता लोकतान्त्रिक अभ्यासहरू लगभग लोप भएका छन्। न त विचार सुन्ने संस्कार बाँकी छ, न त असहमति सहने क्षमता। दलहरू आन्तरिक रूपमा जति बन्द र कठोर बन्दै गएका छन्, बाह्य रूपमा त्यति नै जनविरोधी देखिन थालेका छन्। परिणामस्वरूप, जनताको आक्रोश विस्फोट भईरहेको छ।
यति मात्र होइन—पद र प्रतिष्ठा नेताहरूको खल्तीबाट बाँडिने वस्तु जस्तो बनेको छ। योगदान, क्षमता र निष्ठाको आधारमा होइन, चाकडी र निकटताको आधारमा जिम्मेवारीहरू बाँडिने क्रम बढेको छ। यसले कार्यकर्ताको मनोबल खस्काएको छ र योग्यताको मूल्यांकन गर्ने परिपाटी नै समाप्त भएको छ। दलहरू आज केही गुटबन्दी नेताहरूको चण्डाल चौकडीको कब्जामा जस्तो देखिन्छन्।
यस्तो अवस्थाबाट देशलाई निकास दिन दलहरूको पुनर्संरचना अब अपरिहार्य भइसकेको छ। पुनर्संरचनाको पहिलो शर्त हो—आदेशमूलक प्रवृत्तिको अन्त्य। दलहरूलाई सामूहिक निर्णय, छलफल र बहसको संस्कारमा फर्काउनुपर्छ। दोस्रो, सहभागिता र अन्तरक्रियात्मक नेतृत्व विकास गर्नुपर्छ, जसले कार्यकर्ताको आवाजलाई सम्मान दिन्छ र जिम्मेवारी योग्यता तथा योगदानका आधारमा बाँड्छ। तेस्रो, आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ—नियत कार्यकाल, आन्तरिक निर्वाचन र पारदर्शी निर्णय प्रक्रियाबाट मात्र नेतृत्वमा प्रतिस्पर्धा सम्भव हुन्छ।
यससँगै, दलहरूले जवाफदेहिता र पारदर्शितालाई आन्तरिक जीवनशैलीको हिस्सा बनाउनुपर्छ। वित्तीय पारदर्शिता, सार्वजनिक नीति निर्माण प्रक्रियामा जन सहभागिता, र आलोचनालाई स्वीकार गर्ने संस्कारबिना लोकतन्त्र सबल हुँदैन
सबैभन्दा महत्वपूर्ण कुरा—दलहरूले राजनीतिलाई व्यक्तिगत लाभ होइन, विचार र जनसेवाको माध्यम बनाउने संकल्प गर्नुपर्छ। राजनीतिक कार्यकर्ताको शिक्षा, नीति र विचारमाथि आधारित राजनीतिक अभ्यास नै लोकतन्त्रको दीर्घकालीन जग हो।
जनताको भरोसा फर्काउन दलहरूले अब नेतृत्वको खल्तीबाट बाँडिने पद–प्रतिष्ठाको राजनीतिलाई अन्त्य गर्दै जनताको सहभागिता, जवाफदेहिता र विचारमा आधारित दल निर्माणको मार्ग लिनुपर्छ। यही बाटो मात्र मुलुकलाई वर्तमान संकटबाट बाहिर निकाल्न सक्षम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित