सार्थक ब्यूरो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सेवा अझै सुरु हुन सकेको छैन। असार महिनादेखि अविरल वर्षाका कारण निकुञ्जभित्र जाने सडक र पुलहरू बिग्रिएपछि सफारी सेवा स्थगित भएको हो।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार वर्षाले सडकमा खाल्डाखुल्डी बनेको, ठूलो घाँस बढेको र केही पुलहरू समेत क्षतिग्रस्त भएकाले हाल सफारी सञ्चालन सम्भव छैन। “सडक र पुल मर्मतसँगै वरिपरिको घाँस हटाउनुपर्ने भएकाले अहिले तयारी भइरहेको छ,” उनले बताए, “दसैँ र तिहारबीचमा सफारी पुनः सञ्चालन गर्ने योजना छ।”
गत आर्थिक वर्ष २०८१/८२ मा निकुञ्जमा तीन हजार तीन सय ७१ पर्यटक पुगेका थिए। तीमध्ये एक सय ९९ जना विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक रहेका निकुञ्ज कार्यालयले जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वनस्पति, चराचुरुङ्गी र वन्यजन्तुको वासस्थानका रूपमा प्रसिद्ध मानिन्छ। निकुञ्ज क्षेत्रमा हालसम्म ५६ प्रजातिका घस्रने वन्यजन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने तथ्यांक छ।
विश्वमै दुर्लभ मानिने सारस, खरमजुर, सिम तित्रा, राजधेस र लेसर जस्ता प्रजातिदेखि पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, चितुवा, नीलगाई, चितल, सालक, लगुना, बँदेल लगायतका जनावर यहाँ पाइन्छन्। तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्ज विशेषगरी बाह्रसिङ्गाको संरक्षणका लागि ख्यातिप्राप्त छ, जहाँ हाल करिब दुई हजार तीन सय २३ बाह्रसिङ्गा रहेका छन्।


















Discussion about this post