सार्थक ब्यूरो ।शुक्लाफाँटा नगरपालिका–७ मा बस्तीमा पस्ने वन्यजन्तु नियन्त्रणका उद्देश्यले स्वचालित ९सेन्सरयुक्त० बत्ती जडान गरिएको छ। तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले निकुञ्ज नजिकका बस्ती क्षेत्रवरपर २९ पोलमा ५८ वटा बत्ती जडान गरेको हो।
समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले राति निकुञ्ज क्षेत्रबाट बस्तीमा पस्न खोज्ने जनावरहरू टाढैबाट देखिने भएकाले रोकथाम गर्न सजिलो भएको छ। उनका अनुसार हात्ती, बँदेल, नीलगाई, चितलजस्ता वन्यजन्तु प्रायः बस्ती क्षेत्रतर्फ पसेर बालीनालीमा क्षति पुर्याउँदै आएका थिए।
“बत्ती जडान भएपछि खेतबारी मात्र होइन, बस्ती सुरक्षामा पनि सहयोग पुगेको छ,” अध्यक्ष विष्टले बताए। समितिले झन्डै तीन किलोमिटर क्षेत्रमा मेसवायर पनि जडान गरेको छ, जसले हात्ती र ठूला जनावरलाई बस्तीमा पस्न रोक्ने काम गरिरहेको छ।
वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार यस प्रविधिले मानवीय क्षति न्यूनीकरणमा समेत मद्दत पुर्याएको छ। “पहिले हात्ती घर नजिक पुगिसकेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीले टाढैबाट देख्न सकिने भएकाले समयमै सचेत हुन पाइएको छ,” उनले भने।
स्थानीय बासिन्दाले पनि बत्ती र मेसवायर जडान भएपछि बालीनाली जोगाउन सहज भएको बताएका छन्। समितिले यसै आर्थिक वर्षमा थप क्षेत्र विस्तार गरी स्वचालित बत्ती जडान गर्ने प्रस्ताव पनि पेस गरिसकेको जनाएको छ।








Discussion about this post