सार्थक ब्यूरो । हिन्दूहरूको महान् चाड बडादसैँ आजदेखि आरम्भ भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइन्छ। यस पर्वको पहिलो दिनलाई घटस्थापना भनिन्छ।
आज बिहानैदेखि घर–घरमा पूजा कोठा वा दसैँ घर शुद्धिकरण गरी दियो, कलश र गणेशको विधिपूर्वक स्थापना गरिएको छ। नजिकको नदी वा कुण्डबाट ल्याइएको पवित्र माटो वा बालुवामाथि जौ रोपेर जमरा राख्ने चलन अनुसार देवी दुर्गाको आव्हान गरिएको छ। जमरा दुर्गादेवीलाई प्रिय हुने भएकाले दशमीका दिन टीकासँगै प्रसादस्वरूप ग्रहण गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा उत्तम रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालका अनुसार प्रतिपदा सूर्योदयमै परेकाले आजको दिन घटस्थापनाका लागि उपयुक्त भएको हो।
दसैँको अवधिभर देवी दुर्गाका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रुपको विशेष पूजाआराधना हुन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनसम्पत्तिको र महासरस्वती विद्या र ज्ञानको प्रतीकका रूपमा पूजिन्छन्।
यसैगरी नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको आराधना गर्ने परम्परा छ। यी सबैलाई संयुक्त रूपमा नवदुर्गा भनिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार दुर्गा पूजाले आसुरी शक्तिमाथि दैवी शक्तिको विजयलाई स्मरण गराउँछ।
दसैँ अवधिभर देवीको स्तुति, देवीभागवत, चण्डी लगायतका ग्रन्थ पाठ गरिन्छ। गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, मैतीदेवी, नाला भगवती, पलाञ्चोक भगवतीसहित देशभरका शक्तिपीठहरूमा पूजाआराधनाका लागि भक्तजनहरूको भीड लाग्ने गर्दछ।
फूलपाती सातौँ दिन भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने परम्परा छ। यस वर्ष विजयादशमीको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेट तोकिएको समितिले जनाएको छ। देवी विसर्जन त्यही दिन बिहान ९ बजेर २३ मिनेटमा गर्ने उल्लेख छ।
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजैदेखि घटस्थापना भई विशेष पूजा आरम्भ भएको छ। त्यहाँ नवरात्रभर दैनिक बलिपूजा हुन्छ। महानवमीका दिन ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा अझै जीवित छ।
दसैँलाई धार्मिक मात्र नभई पारिवारिक मिलनको पर्वका रूपमा पनि लिइन्छ। विदेश वा शहरमा काम, अध्ययन वा अन्य कारणले टाढा रहेका मानिस यस अवसरमा आफ्ना परिवारसँग समय बिताउन घर फर्किन्छन्। धेरै शैक्षिक संस्था र कार्यालयहरूले समेत यसै दिनदेखि बिदा दिने गरेका छन्।बडादशैं २०८२ को हाम्रो पनी शुभकामना ।


















Discussion about this post