सार्थक ब्यूरो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दशैँ, तिहार र छठ जस्ता चाडपर्वलाई सुरक्षित र मर्यादित ढंगले मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै पर्वको बहानामा जुवा–तास, कौडा, सट्टेबाजीजस्ता गतिविधि नगर्न चेतावनी दिएको छ । साथै, सार्वजनिक यातायातमा यात्रु ओभरलोड नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र तोकिएको भन्दा बढी भाडा नलिन/नदिन समेत निर्देशन दिएको छ ।
यसबाहेक उपभोक्ता हक विपरीत अत्यावश्यक खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, म्याद गुज्रेका वा अखाद्य वस्तु बिक्री गर्ने, मूल्यमा कृत्रिम वृद्धि गर्ने जस्ता कार्य नगर्न प्रशासनले सचेत गराएको छ ।
मनोरञ्जनका नाममा आतसबाजी, पटाका, भुईचम्पा वा अन्य विस्फोटक पदार्थको खरिद–बिक्री र प्रयोग रोक्नुपर्ने भन्दै प्रशासनले चेतावनी दिएको छ । त्यस्तै, तिहारमा हुने देउसी–भैलो तथा चाडपर्व लक्षित खेलकुद राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीका अनुसार आपतकालीन सेवा–अस्पताल, एम्बुलेन्स, दमकल, इन्धन र आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । नियम उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने समेत उनले स्पष्ट पारे ।








Discussion about this post