सार्थक ब्यूरो।नवरात्रको छैटौं दिन आज आइतबार देशभर कात्यायनी देवीको विशेष पूजाआराधना भइरहेको छ । बडादशैंअन्तर्गत आजका दिन घर–घरमा तथा शक्तिपीठहरूमा कात्यायनी भगवतीको पूजा गर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार कात्यायनी माताको दर्शन तथा आराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश हुने विश्वास गरिन्छ।
बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड लागेको छ । राजधानीका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकाली मन्दिरमा पूजा–अर्चना गर्नेहरूको घुइँचो देखिन्छ ।
धर्मशास्त्रका अनुसार कात्यायनी देवी अष्टमातृका भगवतीको छैटौं शक्ति हुन् । प्राचीनकालमा महर्षि कात्यायनको पुत्रीका रूपमा देवीको जन्म भएको र उनले महिषासुर नामक राक्षसको वध गरेको शास्त्रीय कथा प्रचलित छ । यही कारणले असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा कात्यायनी देवीको पूजाआराधना गर्ने परम्परा बसालिएको बताइन्छ ।
नवरात्रभर देवीका नौ स्वरूपहरूको क्रमशः पूजा गरिन्छ — शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी सबै रुपलाई ‘नवदुर्गा’ नामले पनि चिनिन्छ ।
बडादशैंसँग सम्बन्धित अन्य विधिहरू पनि क्रमशः अगाडि बढ्दैछन् । असोज १३ गते फूलपाती, असोज १४ गते महाअष्टमी, असोज १५ गते महानवमी र असोज १६ गते विहान ९ बजेर २३ मिनेटमा टीका लगाउने साइत पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरिसकेको छ ।


















Discussion about this post