सार्थक ब्यूरो।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाले ठूलो आर्थिक क्षति बेहोरेको छ । आन्दोलनमा घुसपैठ गरी गरिएको तोडफोड र आगजनीका कारण नगरपालिकाका दुईवटै भवन पूर्ण रूपमा जलेर नष्ट भएको र करिब पाँच करोड ५५ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरिएको छ ।
२०७५ असारमा झन्डै ६ करोड ६८ लाख रुपैयाँ लागतमा निर्मित पहिलो प्रशासकीय भवन र २०८० असारमा करिब १ करोड ६३ लाख लागतमा बनेको दोस्रो भवन दुवै जलेर नष्ट भएका हुन् । करिब आठ करोडको लागतमा बनेका यी संरचनाहरू आन्दोलनकारीको आगजनीपछि पूर्ण रूपमा ध्वस्त भएका नगरपालिकाले जनाएको छ ।
घटनाबाट भवन मात्र नभई कार्यालयका सामग्री र सवारीसाधनमा समेत क्षति पुगेको छ । एक करोड १९ लाख रुपैयाँ बराबरका सवारीसाधन जलेका छन् भने थप १६ लाख रुपैयाँ बराबरका गाडी र मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । फर्निचर, मेसेनरी औजारलगायत सामग्रीमा दुई करोड ४८ लाखभन्दा बढीको क्षति भएको विवरणमा उल्लेख छ ।
यससँगै राजस्व शाखा र कृषि विकास शाखामा जम्मा गर्न बाँकी करिब १ लाख ५२ हजार रुपैयाँ नगद समेत जलेर नष्ट भएको जनाएको छ । कुल क्षतिको मूल्याङ्कन गर्दा भवन पुनर्निर्माणमा मात्र १ करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने उपकरण, सवारीसाधन र अन्य अत्यावश्यक सामग्री खरिदमा ४ करोड २४ लाखभन्दा बढी रकम आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।
घटनापछि केही समय सेवा अवरुद्ध भए पनि अहिले भने न्यूनतम सेवा सञ्चालनमा आएको छ । विभिन्न संघ–संस्थाले कम्प्युटर, टेबल, कुर्सी लगायत सामग्री सहयोग गरेपछि नगरपालिका आंशिक रूपमा सञ्चालनमा आएको हो । नगरप्रमुख तोयप्रसाद शर्माले भवन पुनर्निर्माणबारे तत्काल भन्न नसकिएको तर दाताको सहयोगले अत्यावश्यक सेवा सुरु भएको जानकारी दिनुभयो ।
















Discussion about this post