महेन्द्रनगर खानेपानी शाखाको बक्यौता ७० लाख नाघ्यो

सार्थक ब्यूरो।नेपाल खानेपानी संस्थान शाखा कार्यालय महेन्द्रनगरले असुल गर्न बाँकी रकम ७० लाखभन्दा बढी पुगेको जनाएको छ । उपभोक्ताले तोकिएको समयमै महसुल तिर्ने गरेको छैनन्, जसका कारण बक्यौता बढ्दै गएको हो ।
संस्थानका सूचना अधिकारी धर्मराज पाण्डेका अनुसार हालसम्म जम्मा ७० लाख ५६ हजार रुपैयाँभन्दा बढी बक्यौता देखिएको छ । सो शाखामा करिब ४ हजार १ सय उपभोक्ता रहेकामा एक हजारभन्दा बढीले लामो समयदेखि महसुल तिरेका छैनन् ।
भीमदत्त नगरपालिकाभित्रका ५४ सरकारी कार्यालयहरूले मात्र करिब १३ लाख रुपैयाँ नबुझाएको पाण्डेले जानकारी दिनुभयो । नगर विकास समितिले छवटा धारा जडान गराए पनि हालसम्म करिब ३ लाख ५० हजार रुपैयाँ तिरेको छैन । पौष्टिक आहार केन्द्र, नेपाल रेडक्रस सोसाइटी, जिल्ला खेलकुद विकास समिति, जडीबुटी उद्यान केन्द्र र बाल पुस्तकालयलगायत कार्यालयहरूमासमेत खानेपानीको महसुल तिर्न बाँकी रहेको संस्थानले जनाएको छ ।
शाखा कार्यालयका निमित्त प्रमुख विजय श्रेष्ठका अनुसार सरकारी कार्यालयहरूका लागि खानेपानीको छुट्टै बजेट व्यवस्थापन हुने भए पनि नियमित भुक्तानी गर्न टालमटोल भएकाले बक्यौता बढेको हो । पटक–पटक ताकेता गर्दा पनि उपभोक्ता र संस्थाहरूले अटेरी गरेको उहाँको भनाइ छ ।
हाल नियमअनुसार तीन महिनासम्म पनि महसुल नबुझाए लाइन काट्न सकिने व्यवस्था भए पनि महेन्द्रनगर शाखाले अहिलेसम्म कसैको धारा काटेको छैन । ूपानी आधारभूत आवश्यकता भएकाले लाइन काट्ने विकल्प सजिलो छैन,ू श्रेष्ठले बताउनुभयो । निजी उपभोक्ताबाट मात्रै करिब ५७ लाख रुपैयाँ असुल हुन बाँकी रहेको पनि संस्थानको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित