सार्थक ब्यूरो।जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कञ्चनपुर कारागारबाट निस्किएका कैदीबन्दीमध्ये अझै १३२ जनाको अवस्थाबारे जानकारी पाइएको छैन । सो दिन करिब ४५० कैदीबन्दी कारागार बाहिर निस्किएका थिए, जसमा ३४४ जना स्वेच्छाले वा सुरक्षाकर्मीमार्फत फिर्ता भइसकेका छन् ।
कञ्चनपुर कारागार कार्यालयका निमित्त जेलर रामदत्त जोशीका अनुसार फरारमध्ये कर्तव्य ज्यान, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी र लागुऔषध सम्बन्धी मुद्दामा सजाय भोगिरहेका कैदी बढी छन् । जबरजस्ती करणी मुद्दाका ३८, कर्तव्य ज्यानका १४ र ज्यान मार्ने उद्योगका चारजना कैदी अझै सम्पर्कमा नरहेको जानकारी उनले दिनुभयो ।
त्यस्तै, लागुऔषध मुद्दाका ४१ जना, मानव बेचबिखन मुद्दाका ६ जना, चोरीका १५ जना, बैङ्किङ कसुरका तीन जना र वन अपराधका दुई जना समेत फरार सूचीमा छन् । यसबाहेक अभद्र व्यवहार, आपराधिक लाभ, उपद्रो, सवारी ज्यान र कुटपिटलगायत विभिन्न मुद्दाका कैदी समेत गरी हालसम्म १३२ कैदी कारागारमा नफर्किएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार फरार कैदीबन्दीको खोजी तीव्र पारिएको छ । उनले जिल्लाभरका प्रहरी इकाइलाई कैदीहरूको विवरण र तस्बिर उपलब्ध गराई खोजतलास जारी राखिएको बताए । प्रहरीका अनुसार फरार कैदीलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन भइरहेको छ ।








Discussion about this post