सार्थक ब्यूरो।विदेशी जेलमा एक हजार १७१ नेपाली कैदी रहेका छन् भने सात जनाले आजीवन कारावासको सजाय पाएका छन् । परराष्ट्र मन्त्रालयले संघीय संसद्को लिखित जवाफमार्फत यो तथ्य सार्वजनिक गरेको हो।
संसद सचिवालयले हालै सार्वजनिक गरेको विवरणअनुसार, तत्कालीन प्रतिनिधिसभा सदस्य सोबिता गौतमले सोधेको प्रश्नको जवाफमा मन्त्रालयले यस्तो जानकारी दिएको हो। तर कुन देशमा कति जना छन् र उनीहरू कुन अपराधमा पक्राउ परेका हुन् भन्ने विवरण भने मन्त्रालयले खुलाएको छैन।
परराष्ट्र मन्त्रालयका अनुसार, विदेशी जेलमा रहेका नेपालीलाई नेपाल सरकारले विभिन्न प्रकारका कानुनी तथा कन्सुलर सेवा उपलब्ध गराउँदै आएको छ। मन्त्रालयले उपलब्ध गराएका विवरणअनुसार, सरकारले गर्ने प्रमुख सहयोगहरू यसप्रकार छन्–
समय–समयमा कैदी नेपालीलाई भेटी कानुनी प्रक्रिया र परिवारसँग सम्पर्कमा सहयोग गर्ने।
अभियोजनका क्रममा सजाय कम गर्न सम्बन्धित देशसँग पहल गर्ने।
स्थानीय भाषा तथा कानूनमा दक्ष कर्मचारीमार्फत कानुनी सहयोग उपलब्ध गराउने।
आवश्यक कागजात (वकालतनामा, अख्तियारनामा, नाता वा वारिस प्रमाणपत्र आदि) संकलनमा सहजीकरण गर्ने।
पीडितको पक्षबाट मुद्दा दायर वा बहस पैरवी गर्न सहयोग गर्ने।
सम्बन्धित देशका प्रमुख अवसरमा आममाफीको लागि पहल गर्ने।
सजाय पुरा गरेका नेपालीलाई छिट्टै स्वदेश फर्काउने प्रयास गर्ने।
आवश्यक परे त्यहाँ मान्यता प्राप्त वकिलमार्फत कानुनी प्रतिरक्षामा सहयोग गर्ने।
यो विवरण संसद् विघटनअघि भएको अन्तिम अधिवेशनको कामकारबाही सार्वजनिक गर्ने क्रममा आएको हो। भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए भने त्यसपछिको परिस्थितिमा प्रतिनिधिसभा भङ्ग भई अन्तरिम सरकार बनेको थियो।यसै क्रममा सांसदहरूका प्रश्न र मन्त्रालयका लिखित जवाफहरू सार्वजनिक गर्दा विदेशी जेलमा रहेका नेपालीबारे तथ्यांक पनि खुलाइएको हो।








Discussion about this post