सार्थक ब्यूरो। लगातार तीन दिनदेखिको वर्षापछि सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि मौसम क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मनसुन समाप्त भइसके पनि पश्चिमी र स्थानीय वायुको प्रभावले सोमबारदेखि प्रदेशभर वर्षा भइरहेको थियो। महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार साहका अनुसार मनसुन समाप्त भएसँगै सक्रिय बनेको ‘पोष्ट–मनसुन’ प्रणालीका कारण वर्षा भइरहेको हो।
“मनसुन बाहिरिएलगत्तै पोष्ट,मनसुन सक्रिय बनेको छ,” साहले भने, “यसकै कारण पछिल्ला दिनमा निरन्तर वर्षा भएको हो।” विभागका अनुसार पोष्ट,मनसुन अवधिमा सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भएको छ। यस अवधिमा डडेल्धुराको ज्यामिरेखालीमा सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको छ, सोमबार मात्र ७१.२ मिलिमिटर र पछिल्ला २४ घण्टामा ७४.८ मिलिमिटर।
अचानक बढेको वर्षाले किसानलाई भने समस्या निम्त्याएको छ। धान पाकेर तयार भए पनि खेत भिजेकाले काट्न कठिनाइ भएको कैलारी गाउँपालिका–७ का कृषक खेमराज चौधरीले बताए। “दसैँपछि धान काट्न थालेका थियौं, तर वर्षा सुरु भएपछि खेतमै रोकियो,” उनले भने, “काटिएका धान भिज्दा उम्रीने डर छ।”
तर मौसमविद् साहका अनुसार बुधबारदेखि वर्षा घट्दै जाने र मौसम स्थिर हुने भएकाले किसानलाई राहत मिल्नेछ। मौसम सफा भएसँगै धान भित्र्याउने काम सहज हुने अपेक्षा गरिएको छ।


















Discussion about this post