कैलाली–कञ्चनपुरमा वैवाहिक बलात्कारका घटना बढ्दै, पीडित मौन बस्न बाध्य

सार्थक ब्यूरो ।सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा वैवाहिक बलात्कारका घटना वर्षेनी बढ्दै गएका छन्। श्रीमानकै हातबाट यौनिक र शारीरिक हिंसा सहनु पर्ने महिलाको संख्या बढिरहेको विभिन्न संस्थाका तथ्यांकले देखाएका छन्।
कैलालीकी एक २५ वर्षीया महिलाको कथा यस्तै छ। १४ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी उनी विगत दशकदेखि श्रीमान्को यातना सहँदै आएकी छन्। मादक पदार्थ सेवनपछि जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने, अस्वीकार गरे कुटपिट गर्ने, र शरीरमा चोट पुर्‍याउनेसम्मका घटनाले उनको जीवन असह्य बनेको छ। अन्ततः उनले सम्बन्धविच्छेदको बाटो रोजेकी छन् र अहिले धनगढीमा बच्चासहित सानो व्यापार गर्दै बस्दै आएकी छन्।
कञ्चनपुरकी ३२ वर्षीया एक महिलाले पनि यस्तै पीडा झेलेकी छन्। ११ वर्षअघि विवाह गरेकी उनी श्रीमान्को दैनिक झगडा, कुटपिट र जबरजस्ती व्यवहारका कारण शारीरिक तथा मानसिक रूपमा थकित भएकी छन्। “मेरो शरीरमा मेरो अधिकार छैन भन्ने महसुस हुन्थ्यो,” उनी भन्छिन्, “अन्ततः मैले पनि सम्बन्धविच्छेदको बाटो रोजेँ।”
यी दुई घटना पृथक देखिए पनि यस्ता पीडितहरूको संख्या सुदूरपश्चिममा बढ्दै गएको महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदनले पुष्टि गरेको छ। संस्थाले जुलाई २०२४ देखि जुन २०२५ सम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा २१ वटा वैवाहिक बलात्कारका घटना अभिलेख गरेको जनाएको छ।
तीमध्ये कैलाली, कञ्चनपुर र बाजुरामा नौ–नौ वटा घटना दर्ता भएका छन्। ओरेकका सुदूरपश्चिम संयोजक सपना थापाका अनुसार वैवाहिक सम्बन्धभित्र जबरजस्ती यौन सम्पर्कलाई अझै पनि “श्रीमान्को अधिकार” भनेर सामान्यीकृत गर्ने सोच व्यापक छ। “समाजले यस किसिमको हिंसालाई मौन सहमति दिएको जस्तो वातावरण छ, जसका कारण धेरै महिला पीडा सहँदै चुप बस्न बाध्य छन्,” उनले भनिन्।
ओरेकले सो अवधिमा केवल वैवाहिक बलात्कार मात्रै होइन, कैलालीमा २८ वटा लैङ्गिक विभेदका घटनासमेत अभिलेख गरेको छ। विशेषज्ञहरूका अनुसार यस्ता घटना घटाउन कानुनी कार्यान्वयनसँगै सामाजिक चेतना अभिवृद्धि र लैङ्गिक समानतामुखी शिक्षा अपरिहार्य भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित