सार्थक ब्यूरो ।अछामको साँफेबगर नगरपालिका–३ स्थित हाटबजार क्षेत्र फेरि पनि भीषण आगलागीको घटनाले तहसनहस भएको छ। शनिबार राति करिब पौने ९ बजे सुरु भएको आगो एक घण्टाभन्दा बढी प्रयासपछि राति १०ः१५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
आगलागीमा सात वटा पसल पूरै जलेर नष्ट भएका छन्। जलेका पसलमा सुमन कुँवरको राज्यश्वरी कृषि फर्म, अशोक कुँवरको जुत्ता–चप्पल पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटल, कर्ण कुँवरको एग्रोभेट सेन्टर, तपेन्द्र ठकुल्लाको फेन्सी स्टोर र नरेन्द्र गिरिको सिलाई–कटाइ पसल रहेका छन्। यस्तै किशोर भाट र गोपाल धामीका चिया–नास्ता पसलहरू आंशिक क्षतिग्रस्त भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार एउटा पसलमा विद्युत् सर्ट भएर आगो सुरु भएको अनुमान गरिएको छ। आगो नियन्त्रणका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सक्रिय भूमिका निभाएका थिए। आगो निभाउन स्थानीय निर्माण व्यवसायी गौतम कुँवरको जेसीबी र इन्द्रसरा आयल स्टोरको पानी ट्यांकर प्रयोग गरिएको थियो।
यो स्थान पछिल्ला वर्षमा पटक–पटक आगलागीको घटनाबाट प्रभावित हुँदै आएको छ। यसअघि वैशाख १३ गते सोही बजारमा भएको आगलागीमा १० वटा पसल जलेर करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। त्यसभन्दा केही साताअघि, चैत २६ गते बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा लागेको आगोले ३५ घर पसल भत्किँदा करिब ८ करोडभन्दा बढीको क्षति भएको थियो।
अछामका अधिकांश स्थानीय तहमा दमकल नहुँदा आगलागी नियन्त्रणमा कठिनाइ हुने गरेको स्थानीयवासीको गुनासो छ। हाल जिल्लामा केवल मंगलसेन नगरपालिकासँग मात्र दमकल उपलब्ध छ। बारम्बारको आगलागीपछि दमकल खरिदको विषय चर्चा भए पनि व्यवहारिक रूपमा पहल नहुने गरेको उनीहरूको भनाइ छ।
शनिबार रातिको आगलागीमा स्थानीयले पानीका ट्यांकर र बाल्टीनै भरपर्दो साधन बनेका थिए। जोखिमका बीचमा स्थानीयको प्रयास र सुरक्षाकर्मीको सहयोगले आगो फैलिन नपाएको प्रहरीको भनाइ छ।
















Discussion about this post