सार्थक ब्यूरो ।नेकपा एमालेले आगामी ११औँ महाधिवेशनका लागि मुख्य नारा निर्धारण गर्दै तयारी तीव्र पारेको छ। च्यासलमा बसेको महाधिवेशन सचिवालयको बैठकले तयारी योजनासहित प्रमुख निर्णयहरू अघि सारेको हो।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नाराका साथ सम्पन्न गर्नेछ। महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने तय छ।
उद्घाटन समारोह आयोजना गर्न पार्टीले काठमाडौं उपत्यकाका तीन स्थानलाई विकल्पका रूपमा प्रस्तुत गरेको छ—खुलामञ्च, भृकुटीमण्डप र भक्तपुरको सल्लाघारीस्थित खाली क्षेत्र।
यीमध्ये भृकुटीमण्डपको ठाउँ सीमित देखिनु र खुलामञ्चमा काठमाडौं महानगर प्रमुख बालेन साहको सहयोगप्रति अनिश्चितता देखिँदा सल्लाघारी बढी उपयुक्त विकल्पको रूपमा उदाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
उनका अनुसार ९९ रोपनी क्षेत्रफल भएको सल्लाघारी ठूलो उपस्थितिको हिसाबले पनि तुलनात्मक रूपमा सहज देखिएको छ।“भेन्यूका लागि तीन स्थान उठाइयो। तर सबै पक्षबाट हेर्दा सल्लाघारी नै बढी व्यवहारिक देखिएको छ,” नेताले भने।
पार्टी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पनि उपत्यकाको ट्राफिक चाप र सर्वसाधारणको दैनिक आवत–जावत प्रभावित नपर्ने दिशामा विचार गर्दा उद्घाटन कार्यक्रम सल्लाघारी सारिने सम्भावना बलियो रहेको बताए।त्यसबाहेक, बन्द सत्र भने भृकुटीमण्डपमै राखिने उनले स्पष्ट गरे।
महाधिवेशन तयारीका लागि गठन गरिएका १२ उपसमितिहरूले हालसम्मका कार्यप्रगतिबारे बैठकमा जानकारी गराएका छन्।योजनाबद्ध गतिविधि अघि बढिरहेको र बाँकी तयारी चाँडै पूरा गर्ने उनीहरूको प्रस्तुति बैठकमा राखिएको गौतमले बताए।


















Discussion about this post